किन बढ्दैछ अख्तियार जान प्रहरीमा होडबाजी ?

Posted on: 21 Aug, 2017


भदौ ५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा हुन प्रहरीमा होडबाजी चल्ने गरेको छ । 

महाभियोग लाग्दालाग्दै अदालतको फैसलाबाट बर्खास्त भएका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अख्यिारमा प्रहरी दरबन्दी ६ गुणाले वृद्धि गराएका थिए । दरबन्दी बढेसँगै अख्तियारमा पोस्टिङ खोज्दै राजनीतिक ‘सोर्स’ र अख्तियारकै ‘कृपा’ खोज्ने प्रवृत्ति प्रहरीमा बढेको हो ।

प्रहरी प्रधान कार्यालयले हालै डीएसपीबाट एसपीमा बढुवा भएकामध्ये आठजना (सुशीलसिंह राठौर, माधव श्रेष्ठ, उमाप्रसाद चतुर्वेदी, विमल बस्नेत, राजन अधिकारी, ईश्वर कार्की, अरुण पौडेल र किसनसिंह थापा)लाई अख्तियारमा पदस्थापन गर्‍यो । ३५ एसपीको पदस्थापन गर्दा २८ जनाको ‘खाली’ को कारण देखाइएको छ । अख्तियार पठाइएका आठ जनाको हकमा भने कारण खुलाइएको छैन ।

अख्तियारमा सरुवा मिलाउन ‘बाहिरी स्रोत’बाट प्रहरी नेतृत्वमाथि दबाब दिलाउनु सामान्य भइसकेको मुख्यालय स्रोत बताउँछ । एक पूर्वउच्च अधिकृत भन्छन्, ‘१३ पाने सम्पत्ति विवरण भर्नुपर्ने त्रास सबैभन्दा ठूलो कारण हो ।’पूर्वप्रमुख आयुक्त कार्कीले आफ्नो कार्यकालमा प्रहरी कर्मचारीको नामै तोकेर सरुवा गर्न दबाब दिने गरेको अधिकारी बताउँछन् ।

प्रहरीले पहिलो रोजाइका आकर्षक ठाउँ नपाएको अवस्थामा अख्तियारलाई वैकल्पिक गन्तव्य बनाएको देखिन्छ, जहाँका ‘छुट्टै फाइदा’ पाइन्छ । तल्लो तहका लागि त्यहाँको पोस्टिङबापत प्राप्त हुने भत्ता नै ठूलो आकर्षण देखिएको छ । वरिष्ठ अधिकृतका लागि चाहिँ धेरै लाभ मिल्न सक्छ- बढुवाका लागि वातावरण निर्माण, अर्कोपटक चाहेको ठाउँमा सरुवा र तक्माका लागि सिफारिस ।

– दलीय ‘सोर्स’ र अख्तियारकै ‘कृपा’ खोज्ने प्रवृत्ति बढ्यो

– उच्च तहका अधिकारीको भटाभट सरुवा तथा पदस्थापन

– आठ एसपी र १२ डीएसपीलाई अख्तियारमा खटाइयो

– असइ र हवल्दार सरुवामा भने एकजना पनि परेनन्

– अख्तियारमा परिचरदेखि डीआईजीसम्म २२७ जनाको दरबन्दी

– केन्द्रमा १ सय १९

– क्षेत्रीय कार्यालयमा १ सय ८ जना परिचालित

– लोकमानसिंह कार्कीका पालामा दरबन्दीमा ६ गुणाले वृद्धि

तत्कालीन प्रमुख आयुक्त कार्कीले ४० जनाको दरबन्दीलाई दुईपटक बढाएर २ सय २७ पुर्‍याएका थिए । केन्द्रमा सीमित संस्थालाई क्षेत्रगत विस्तारमा लगे, जसले गर्दा अख्तियार भर्तीकेन्द्र बन्न पुगेको जानकारको भनाइ छ । कार्कीले आफ्ना अंगरक्षक इन्स्पेक्टर दानबहादुर कार्कीलाई डीएसपीमा बढुवा मात्र दिलाएनन्, संयुक्त राष्ट्रसंघको विशेष मिसनमै पठाए । त्यसमा तत्कालीन प्रहरी नेतृत्व निरीह देखिएको थियो ।

अहिले अख्तियारका इटहरी, धनकुटा, हेटौंडा, बर्दिबास, पोखरा, बुटवल, सुर्खेत, कोहलपुर, कञ्चनपुर र दिपायलमा क्षेत्रीय कार्यालय छन् । ती स्थानमा एसपीदेखि डीएसपीसम्म प्रमुख रहने दरबन्दी छ ।

प्रहरी प्रधान कार्यालयले साउन ३२ गते डीएसपीको सरुवा र पदस्थापन गर्दा पनि १२ जनालाई अख्तियारै पठायो । प्रहरी निरीक्षकबाट डीएसपी भएका क्रमशः नरेन्द्र कुँवर, मुकुन्दप्रसाद रिजाल, रूपक खड्का, प्रेमसागर केसी र विष्णुप्रसाद लामिछानेले अख्तियार पाए । उनीहरूको ‘खाली’को कारण नदेखाई ‘अख्तियारको मातहत’ मात्रै भनेर सरुवा गरिएको छ ।

यीमध्ये कुँवरको अख्तियारबाट अख्तियारमै पदस्थापन भएको हो । डीएसपी कृष्णप्रसाद कोइराला, कृष्णप्रसाद पंगेनी, गौतमकुमार केसी, नवराज कार्की, फणीन्द्र प्रसाईं, राजकुमार केसी र रामप्रकाश शाहको पनि अख्तियारमै सरुवा भएको छ ।

प्रहरी संगठनभित्र अख्तियारलाई सुविधाका रूपमा हेरिँदै आएको छ । तर, इन्चार्ज भइसकेका अधिकृतलाई पनि ‘आरामदायी र लाभकारी’ अख्तियारमा पठाइँदा प्रहरी नेतृत्वको आलोचना भएको छ।

अख्तियारका प्रवक्ता एवं सहसचिव जीवराज कोइराला हालै सरुवा भएका डीएसपी र एसपीलाई आवश्यकताका आधारमा राखिएको बताउँछन् । ‘अर्थ र अख्तियार बसेरै पदपूर्तिका लागि संगठन तथा व्यवस्थापन सुधार (ओएनएम) गरेरै दरबन्दी पूर्ति गरिएको हो’, प्रवक्ता कोइराला भन्छन्, ‘त्यस्तो सोर्सफोर्स लगाएर आएको जानकारीमा छैन ।’

प्रहरी मुख्यालयले साउन ३२ गते नै प्रहरी सहायक निरीक्षक (असइ) र हवल्दार सरुवा गर्दा भने एक जनालाई पनि अख्तियार पठाएन । दुई सय ९० असइ र तीन सय ९१ हवल्दारको सरुवामा एकजना पनि अख्तियारमा नपरेका हुन् । अख्तियारमै बसेका एक पूर्वप्रहरी अधिकृत भन्छन्, ‘जुनियर प्रहरी कर्मचारी एकपटक अख्तियार छिरेपछि बाहिरिनै मान्दैनन्, माथिल्लो तहमा पहुँच विस्तार गर्दै त्यहीं टिक्छन् ।’

अख्तियारमा अहिले परिचरदेखि जवान, हवल्दार, असई, सई, निरीक्षक, डीएसपी, एसपी, एसएसपी, डीआईजी गरी दुई सय २७ जनाको दरबन्दी छ । त्यसमध्ये केन्द्रमा १ सय १९ र अन्य क्षेत्रीय कार्यालयमा १ सय ८ जना परिचालित छन् ।

अख्तियारका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय विज्ञता हेरेर मात्र अख्तियारले बाहिरबाट कर्मचारी लैजानुपर्ने धारणा व्यक्त गर्छन् । ‘प्रहरीलाई अनुसन्धानका लागि लैजाने हो, अभियोजनका लागि होइन । पार्टीको सोर्सफोर्समा र कसैको दयामायाले जो पायो त्यही कर्मचारी लगियो भने त्यो भर्तीकेन्द्र हुन्छ र विस्तारै अख्तियार कमजोर हुँदै जान्छ’, उनी भन्छन्, ‘कस्तो कर्मचारी लैजाने भनेर पहिल्यै सोचेर लैजानुपर्छ र आवश्यकताभन्दा धेरै लैजानुहुँदैन ।’ अख्तियारमा लैजाने कर्मचारीको गोपनीयतामा पनि ध्यान दिनुपर्ने उनी बताउँछन् ।

गृह मन्त्रालयको मानवस्रोत व्यवस्थापन महाशाखा प्रमुख ईश्वरराज पौडेल आवश्यकता र औचित्य पुष्टि हुने गरी दरबन्दी सिर्जना हुने बताउँछन् । ‘तर, अहिले कसरी पूर्ति भएको हो भनेर मैले बुझ्न पाएको छैन, बुझ्दै छु’, महाशाखा प्रमुख पौडेल भन्छन् ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पुष्कर कार्की अख्तियारमा दरबन्दी खाली भएकै कारण पूर्ति गर्न सरुवा गरिएको दाबी गर्छन् । ‘हवल्दार र असइको खासै काम नहुने भएकाले सरुवा नगरिएको हो’, प्रवक्ता कार्की भन्छन् । -अन्नपूर्ण पोस्ट दैनिक 

यस बिषयमा तपाइको प्रतिक्रिया...!