जनयुद्धकै कारण एमाले संसदीय राजनीतिमा टिकिरह्यो: प्रचण्ड

Posted on: 16 Jan, 2018

माघ २, काठमाडाै । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादीबीचकाे सम्वन्ध एक अर्कामा परिपुरक रहेकाले नै पार्टी एकताका लागि अाधार तयार भएकाे बताए ।

अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ । उनले पदका लागि नभइ समाजवाद उन्नमुख देश विकासमा लागि पार्टी एकता गर्न लागेकाे पनि बताए । प्रचण्डले नयाँ पत्रिकाको न्युजरुमबाट फेसबुक लाइभमा एमाले–माओवादीबीचको सम्बन्ध भाइबन्धुको जस्तो रहेको प्रष्ट्याए । प्रचण्डले भने,‘एमाले संसदीय संघर्षमा रहेकाले माओवादीले थालेको जनयुद्ध शान्ति प्रक्रियामा अवतरण गर्न सहज भयो । भने माओवादी जनयुद्धकै कारण एमालेलाई संसदीय राजनीतिमा टिकिरहन सम्भव भयो ।’

नयाँ पत्रिकासँगको कुराकानीमा प्रचण्डले एमालेका तत्कालिन महासचिव माधव नेपाललाई संविधानसभाको सदस्यसँगै प्रधानमन्त्रीसम्मको यात्रा, एमालेकै तत्कालिन अध्यक्ष झलनाथ खनाल र अहिलेका केपी ओलीलाई प्रधानमन्त्री बनाउन अहम भूमिका निर्वाह गरेको जिकिर गरे ।

प्रचण्डले भने,‘पहिलो पटक प्रधानमन्त्री हुँदा आफ्नै हातले चिठी लेखेर माधवजीलाई सांसद बनाउन भूमिका खेलें र उहाँ प्रधानमन्त्री हुनुभयो । झलनाथजी चाहिँ अन्तराष्ट्रिय शक्ति केन्द्रहरु र माओवादीबीचको संघर्षका कारण प्रधानमन्त्री बन्नुभयाे । भने ओलीजी त मैरै प्रस्तावमा प्रधानमन्त्री बन्नुभएको हो ।’

राजनीतिक घटनाक्रम

माओवादी अध्यक्ष प्रचण्डले एमाले–माओवादीबीच पार्टी एक भइछाड्ने बताए । एमाले र माओवादी पछाडि फर्किनको लागि पुल भत्काइसकेको पुनः दोहोर्‍याएका प्रचण्डले पार्टी एकता चाँडै हुने प्रतिक्रिया दिए । उनले पदीय भागवण्डाको विषयमा कुनै पनि प्रकारको समस्या नभएको जानकारी गराए । ‘म झण्डै ३० वर्षदेखि पार्टीको नेतृत्वमा छु ।

प्रधानमन्त्री पद के हो भन्ने बारे दुई पटक प्रधानमन्त्री हुँदा थाहा पाइसकेको छु । प्रचण्डले भने,‘केपी ओली पनि अहिले अध्यक्ष हुनुहुन्छ भने मेरै प्रस्तावमा प्रधानमन्त्री भइसक्नुभयो । त्यसैले, पार्टी एकता पदका लागि होइन देशको विकास, सम्बृद्धि र शान्तिका लागि हो । देशले अव राजनीतिक अराजकता थेग्न सक्दैन ।’

कांग्रेस बनोस्

प्रचण्डले वामपन्थीहरुको एकताबाट कांग्रेसलाई नआत्तिन पनि आग्रह गरे । उनले कांग्रेसबाटै विभाजन भएर गएका महन्थ ठाकुरलगायतलाई पनि पार्टीमै समाहित गरेर बलियो कांग्रेस निर्माण गर्न सुझाए । प्रचण्डले राष्ट्रपति/उप–राष्ट्रपति, सभामुख, प्रदेशका मुख्यमन्त्रीलगायतका पदहरुमा छलफल नै नभएको जानकारी गराए ।

सो पदहरुको बारेमा एमाले अध्यक्ष ओली थाइल्यान्डबाट उपचार गरी फर्किएपछि छलफल गरी निष्कर्षमा पुग्ने पनि जानकारी गराए । प्रचण्डले आफू प्रधानमन्त्री हुँदा लोडसेडिङ न्युनिकरण गरेर आर्थिक विकासमा टेवा पुर्‍याएको, भारत–चीनबीचको सम्वन्धलाई सुदृढ पारेको, हिमाल–पहाड र तराई÷मधेसका जनतालाई मिलाएर निर्वाचन गरेको पनि जिकिर गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!