कर्णालीवासीको घर भत्किए ५ लाख, मृत्यु भए १ लाख: परिवारले ३० लाखसम्म पाउने

Posted on: 19 Sep, 2019

असोज २, सुर्खेत | विपदमा हुने धनजनको क्षतिमा राहत दिने काम सरकारको हो । अब कर्णाली प्रदेश सरकारले भने यस्ता विपद्को राहत रकम बिमा कम्पनीबाट लिएर जनतालाई दिने भएको छ । यसका लागि सरकारले प्रदेशका जनताको सामूहिक बिमा गरको छ ।

सम्झौताअनुसार अब कर्णालीका बासिन्दाको विपदमा घर भत्किए ५ लाख र ज्यान गुमे मृतकका परिवारले एक लाख रुपैया बिमा कम्पनीमार्फत पाउनेछन् । यसका लागि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र राष्ट्रिय बिमा कम्पनीबीच मंगलबार बिमा सम्झौता भएको छ । मन्त्रालयका सचिव वीरन्द्रकुमार यादव र कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरे । ‘पोलिसी इस्यु हुनेबित्तिकै केही दिनमै बिमा कार्यक्रम लागू हुन्छ,’ सचिव यादवले भने, ‘यसले विपद् जोखिमबाट कर्णालीवासीलाई राहत दिनेछ ।’

प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सामूहिक दुर्घटना बिमा गरिने उल्लेख गरको थियो । यसका लागि १ करोड ५० लाख रुपैया विनियोजन गरेको छ ।  कम्पनीसँगको सम्झौताअनुसार सरकारले प्रतिव्यक्ति ७ रुपैयाका दरले वार्षिक रूपमा रकम जम्मा गर्नेछ । हाल कर्णालीको जनसंख्या १७ लाख ७० हजार अनुमान गरी १ करोड २३ लाख ९० हजार रुपैया जम्मा गरिने जानकारी सचिव यादवले दिए । 

त्यस्तै विपद्को उच्च जोखिममा रहेका प्रदेशका १० हजार घरको पनि वार्षिक प्रतिघरधुरी ५ सयका दरले बिमा गरिएको छ । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा कलेन्द्र सेजुवालले लेखेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!