म्याग्दीमा काँग्रेस–माओवादीबीच चुनावी तालमेल

Posted on: 27 Apr, 2017

बैशाख १४, म्याग्दी । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । 

काँग्रेस र माओवादी केन्द्रले दुई÷दुईवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा तालमेल गरेर उम्मेदवारी दिनेलगायत सातबुँदे सहमति गरेका हुन् । काँग्रेसले बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको प्रमुख र अध्यक्ष तथा माओवादी केन्द्रले मङ्गला र धौलागिरि गाउँपालिकाको अध्यक्ष पद लिने सहमति गरेका दुई दलले प्रमुख पद पाएको ठाउँमा उपप्रमुख पद एक अर्कालाई छोड्ने सम्झौता गरेका छन् । 

दुई दलद्वारा गठित वार्ता टोलीले गरेको सहमतिको बारेमा जानकारी गराउन मङ्गलबार साँझ आयोजित पत्रकार भेटघाटमा नेपाली काँग्रेसका पूर्व सभापति तथा सांसद रेशमबहादुर बानियाँले राप्रपालाई समेत सहमतिमा ल्याउन पहल भइरहेको बताउनुभयो । 

दुवै दलले उम्मेदवार चयन गरिसकेको मालीका गाउँपालिकामा तालमेलको विषयमा उम्मेदवारका आकाङ्क्षीसँग संयुक्त छलफल गर्ने र तालमेल नभए स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । ४५ वटा वडामा तालमेल गर्ने अधिकार स्थानीय तह र वडा कमिटीलाई दिएको नेकपा (माओवादी केन्द्र)का संयोजक गोविन्द पौडेलले बताउनुभयो । 

स्थानीय तहको प्रभावकारी कार्यान्वयनका लागि सामाजिक र राजनीतिक एकताको वातावरण बनाउन चुनावी तालमेल गरेको काँग्रेस र माओवादी केन्द्रका नेताहरुले बताएका छन् । काँग्रेसले बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा हरिकुमार श्रेष्ठ र अन्नपूर्णको अध्यक्षमा डमबहादुर पुनलाई उम्मेदवार चयन गरेको छ । 

मङ्गला गाउँपालिकामा चन्द्रप्रसाद बुढाथोकी, धौलागिरिको प्रमुखमा खुमनाथ सुवेदी र रिमप्रकाश थापालाई उम्मेदवार बनाउन सिफारिस गरेको माओवादी केन्द्रले बेनी नगरपालिकाको उपमेयरमा ज्योति लामिछाने र अन्नपूर्णमा लालमाया पुनलाई उपाध्यक्षको उम्मेदवार चयन गरेको छ । 

काँग्रेसले मङ्गला र धौलागिरि गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार चयन गर्न बाँकी छ । विसं २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा (एमाले) विजयी भएको म्याग्दीका चारवटा स्थानीय तहमा दोस्रो र तेस्रो शक्तिबीचको तालमेलले चुनावी प्रतिस्पर्धा रोचक हुने विश्लेषण गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!