६४ जना मन्त्री बनाएका देउवाले यिनलाई माओवादी भन्ने चिनेनछन् !

Posted on: 17 Oct, 2017

असोज ३१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै मन्त्री चिनेनन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ तर वास्तविकता त्यस्तै भएको छ ।

६४ जना मन्त्री बनाएर इतिहाँसमै खराब छवी बनाएका देउवाले मंगलबार माओवादी मन्त्रीहरुलाई छानीछानी जिम्मेवारीबाट हटाएर विनाविभागीय बनाए । तर, जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी भने अझैपनि मन्त्री पुरानै जिम्मेवारीमा कायम छिन् । 

मंगलबार अकस्मात विनाविभागीय बनाइएका माओवादी मन्त्रीहरुमा उपप्रधानमन्त्री कृष्णबहादुर महरासहित स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, गृहमन्त्री जनार्दन शर्मा, शहरी विकासमन्त्री प्रभु साह, सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत, आपूर्ति मन्त्री शिवकुमार मण्डल, उर्जामन्त्री महेन्द्रबहादुर शाही र महिला मन्त्री आशा कोइराला छन् । त्यसैगरी पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुलाई पनि प्रधानमन्त्री देउवाले विनाविभागीय बनाएका छन् ।

राज्यमन्त्रीहरु रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, शम्भुलाल श्रेष्ठ, कर्णबहादुर बिक, छमबहादुर गुरुङ, गोमा कुँवर र वाङदी शेर्पाको ठाउँमा पनि अब देउवाले नयाँ राज्यमन्त्री तोक्ने तयारी स्वरुप उनीहरुलाई जिम्मेवारी विहीन बनाउने निर्णयमा पुगेका छन् । 

चौधरी नेकपा संयुक्तका तर्फबाट देउवा नेतृत्वको सरकारमा मन्त्री बनेकी हुन् । तर, नेकपा संयुक्त अघिल्लो साता माओवादीमा विलय भइसकेको छ । र, पार्टी एकतापछि चौधरी अब नेकपा संयुक्तकी नभएर माओवादीकी मन्त्री बनेकी हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!