हारेको झोकमा कांग्रेस नेता भण्डारीले दिए बाम गठबन्धनलाई यस्तो धम्कि !

Posted on: 13 Dec, 2017

मंसिर २७, बुटवल । प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट एमाले सचिप प्रदिप ज्ञवालीसँग हारेका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेसलाई कमजोर ठाने बाम सरकारको आयु छोट्याईदिने चेतावनी दिएका छन् ।

बुधबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै भण्डारीले बाम गठबन्धनको सरकार पनि स्थिर सरकार नहुने बताए । उनले ठाडो चेतावनी दिँदै भनेका छन् -  ‘बहुमतको मातमा बुद्धि नपुर्‍याउने र कांग्रेसलाई सामान्य ठाने वाम सरकारको आयु १८ महिनामै सकिन्छ ।’

भण्डारीले कांग्रेसलाई सामान्य ठानेर काम गरे त्यसको प्रतिफल देखाईदिने भन्दै बिचार पुर्याएर काम गर्न सुझाव दिएका छन् । उनले आफ्ना कार्यकर्ताहरुलाई निर्वाचन परिणामबाट बिचलित नहुन समेत आग्रह गरे । उनले भने 'कांग्रेसले चुनाव हारेको भएपनि शक्ति र क्षमता हारेको छैन ।' 

नेता भण्डारीले सभापति सुशील कोइरालालाई प्रधानमन्त्री बनाएपछी कांग्रेसको कमजोरी शुरु भएको दाबी गरेका छन् । कांग्रेस हार्नु कारणबारे प्रष्ट पार्दै भण्डारीले भारतको नाकाबन्दी प्रतिवाद गर्न नसक्नु, पाँच नम्बर प्रदेश टुक्रयाउने बिषयमा सहमत हुनु लगायत कारणले आफुहरुले हार्नुपर्ने खुलाए ।

निर्वाचन अघि आफू बेलायतको प्रधानमन्त्री हुनुपर्ने भन्दै अभिव्यक्ति दिएका भण्डारी बेला-बेलामा चर्चामा आउनकै लागि भएपनि बिभिन्न प्रतिकृया दिने गर्छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!