एमाले अध्यक्ष ओली र राजदूत ओगावाबीच भेटवार्ता

Posted on: 16 Dec, 2017

पुस १, भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच आज भेटवार्ता भएको छ । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएकामा बधाई दिन आज बालकोटस्थित ओली निवास पुग्नुभएका राजदूत ओगावा र ओलीबीच भेटवार्ता भएको हो । 

सो अवसरमा अध्यक्ष ओलीले मित्र राष्ट्रहरुको साथ सहयोग लिएर अघि बढ्न आफू तयार रहेको बताउनुभयो । जापानबाट आफूले सदाजस्तै विकास निर्माण, सामाजिक जनचेतना आदि क्षेत्रमा सहयोगको अपेक्षा गरेको बताउँदै उहाँले भन्नुभयो, “हामी सबै अन्तर्राष्ट्रिय छिमेकीको साथ सहयोग लिएर अघि बढ्न तयार छौँ ।” 


भेटमा अध्यक्ष ओलीले आफू र आफ्नो गठबन्धन संविधान र कानूनको परिधिमा रहेर काम गर्ने बताउनुभयो । भ्रष्टाचार न्यूनीकरण, विकास, समृद्धि, पारदर्शीताजस्ता कुरालाई प्राथमिकतामा राखेर आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले भन्नुभयो, “हामी लोकतन्त्रका आधारभूत मूल्य मान्यता स्थापित गर्ने कुरामा प्रतिबद्ध छौँ ।” 

आगामी सरकार असमानता, गरिबी, सामाजिक विभेदजस्ता नेपाली समाजका बेथितिहरु हटाउन प्रयासरत रहने उहाँको भनाइ थियो । 

राजदूत ओगावाले अध्यक्ष ओलीलाई बधाई दिँदै नेपालमा अब स्थायी सरकार निर्माण हुने आफूले अपेक्षा गरेको बताउनुभयो । उहाँले नेपालको विकास निर्माणमा जापानले विगतदेखि नै गर्दै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!