दिपायल तनावग्रस्त, प्रहरीद्वारा चार राउण्ड अश्रुग्याँस प्रहार, सिलगढीमा आगजनी

Posted on: 18 Jan, 2018

प्रकाश बम | माघ ४, डोटी | ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली निकै आक्रोशित बन्दै गएका छन् । हिजो साँझदेखी आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ । आज दिउँसो भैरहेको प्रदर्शनले क्षेत्रीय प्रशासन कार्यालय दिपायल लगायतका क्षेत्रीय कार्यालयहरुमा ढुंगामुडा र तोडफोड गरिदिएका छन् ।  त्यसपछि आन्दोलनकारीहरुलाई तितरबितर पार्न ४ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

यस्तै लाठिचार्ज समेत गरेको छ । भागदौडका क्रममा तीनजना आन्दोलनकारी घाईते भएका छन् । जसमध्ये एकजना गम्भीर घाईते भएका छन् । गम्भीर घाईते भएका दिपायल सिलगढी नगरपालिका ४ का भरत बिकलाई धनगढी रेफर गरिएको छ । यस्तै केआईसिँह ७ का बृद्ध करी भण्डारी र दिपायल सिलगढी नगपालिका १ का नारायण खड्का घाइते छन् । उनीहरुको दिपायल स्थित सुजंग अस्पतालमा उपचार भैरहेको छ ।


अन्य दर्जनौ मानिसहरुलाई चोटपटक लागेको छ । हजारौको संख्यामा आएको आन्दोलनकारीहरुको भीडमा बढीजसो महिलाहरु छन् । अश्रुग्याँसको प्रहारपछि ब्यापक समस्या सिर्जना भएको छ । यस्तोमा पनि आन्दोलनकारीहरु अझै नाराबाजी गरेर अघि बढिरहेका छन् । स्थिती निकै तनावपूर्ण छ । त्यसैगरि डोटीको सदरमुकाम सिलगढीमा जिल्ला बन कार्यालय डोटीको भिआर मोटर साईकल माथी आगजनी गरेका छन् । जिल्ला बन कार्यालय डोटीको बा १ ब ७६३९ नम्बरको मोटर साइकल माथी आन्दोलन कारीले आगजनी गरेको हो । 

आज आन्दोलनकारीले दिपायलको कुलपातेमा र राजपुरमा रहेको ट्राफिक प्रहरीको चेक पोष्टमा समेत आगजनि गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!