माओवादीका नरेश भण्डारी गृहमन्त्री र एमालेका प्रकाश ज्वाला अर्थमन्त्री बने

Posted on: 18 Feb, 2018

फागुन ६, काठमाडौँ | प्रदेश नम्बर ६ मा ७ सदस्यीय मन्त्रिमण्डल निर्माण गरिएको छ । मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि प्रदेश ६ मा सरकारले पूर्णता पाएको हो ।

एमाले र माओवादीले मन्त्रीहरुको टुंगो लगाएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ६ जना मन्त्रीलाई सिफारिस गरेका छन् । मुख्यमन्त्री शाहीले सिफारिस गरेको ६ जना मन्त्रीहरूलार्इ प्रदेश प्रमुख दुर्गाकेशर खनालले आजै शपथ खुवाउका छन् ।

आन्तरिक मामिला तथा कानून (गृह) मन्त्रीको जिम्मेवारी माओवादीबाट निर्वाचित जुम्लाका सांसद नरेश भण्डारीले पाएका छन् ।


त्यस्तै आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्रीको जिम्मेवारी सल्यानबाट निर्वाचित एमालेका प्रकाश ज्वालाले पाएका छन् । यो मन्त्रालय माओवादीका भण्डारीले दावी गर्दै आएका थिए ।


यस्तै सुर्खेतका खड्क खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय, हुम्लाका दल रावलले सामाजिक विकास मन्त्रालय र डोल्पाका नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् । उनीहरु सबै एमालेबाट निर्वाचित सांसद हुन् ।

रुकुमबाट समानुपातिक सांसद बनेकी विमला केसीले माओवादीका तर्फबाट भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन् । विमला बाहेक अरु सबै मन्त्रीहरु प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!