७ नम्बर प्रदेशलाई ‘नमुना प्रदेश’ बनाउने मुख्यमन्त्री भट्ट

Posted on: 23 Feb, 2018

फागुन १२, डोटी | ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको जग बसाउनु अहिले प्रदेश सरकारको मुख्य दायित्व रहेको बताउनुभएको छ  । दिपायलमा १२ दिनदेखी चलिरहेको ‘७ नम्बर प्रादेशिक महोत्सव’को समापन समारोहलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।  

संघीयता कार्यान्वयनको ऐतिहासिक अभिभारा आफ्नो काँधमा आएको बताउदै उहाँले त्यसको भविष्य पनि आफुहरुको हातमा रहेको बताउनुभयो ।  संघीयताको ब्यबस्थित कार्यान्वयन नभए फेरी जनता संघर्षमा उत्रने समेत उहाँले बताउनुभयो । 

प्रदेश सरकार अहिले गम्भीर भएर प्रदेशको जग बसाल्ने कार्यमा जुटेको मुख्यमन्त्री भट्टले बताउनुभयो । जसका लागि आवश्यक नीतिगत काम गरिरहेका छौ । स्थानीय र संघ सरकारसंग समन्वय गर्ने देखी प्रदेशको बिकासको खाँका कोर्ने काममा प्रदेश सरकार लागिरहेको उहाले बताउनुभयो । 

७ नम्बर प्रदेश चुनौती र सम्भावनाको बिचमा रहेको टिप्पणी गर्दै चुनौतीहरुलाई चीरेर सम्भवना साकार पार्दै ‘नमुना प्रदेश’ बनाउने आफ्नो अभियान रहेको मुख्यमन्त्री भट्टले बताउनुभयो । नमुना प्रदेश बनाउन आफ्नो मुख्य ‘चार सम्भावना’हरु उत्पादनयोग्य जमिनको उपयोग,  जलस्रोत, पर्यटन र जडिबुटीलाई बिशेष प्राथमिकतामा रहने बताउनुभयो । 

राजधानीका लागि ज्ञापनपत्र र हस्ताक्षर हस्तान्तरण

समारोहकै बिचमा डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र बहादुर खड्काले मुख्यमन्त्री भट्टलाई ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । साथमा महोत्सवमा संकलन गरिएको हस्ताक्षर पनि बुझाईएको छ । जसमा चार सय बर्गमिटर कपडामा एक लाखभन्दा बढी हस्ताक्षर रहेको आयोजकले जनाएको छ । 

साथै अध्यक्ष खड्काले मुख्यमन्त्री भट्टलाई  ‘७ नम्बर प्रदेशको राजधानी दिपायल किन ?’ शिर्षकको पुस्तक पनि हस्तान्तरण गरेका छन् । २०७१ सालमा डोटी उद्योग बाणिज्य संघले प्रकाशित गरेको थियो । जसमा मुख्यमन्त्री भट्टको पनि आलेख समाबेश छ । 

राजधानीका बिषयमा मुख्यमन्त्री भट्टले आफु संबैधानिक ब्यबस्था अनुसार दिपायल राजधानी बनाउने पक्षमा लागिरहने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!