विमान दुर्घटननाबारे गृहमन्त्री थापा र बंगलादेशका मन्त्रीबीच वार्ता

Posted on: 14 Mar, 2018

फाुगन ३०, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका नागरिक उड्डयन तथा पर्यटनमन्त्री एके एम शाजहान कमलले आज भेट वार्ता गर्नुभएको छ । 

गृहमन्त्रालयमा भएको वार्तामा मन्त्री थापाले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बंगला एअरलाइन्सको विमान दुर्घटना र त्यसमा परी भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै त्यसका लागि एक समिति गठन गरिएको जानकारी गराउनुभयो । 

उहाँले दुर्घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र आफू लगायतका सरकारका उच्च अधिकारी दुर्घटनास्थलमा पुगेर राहत तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिनाका साथै स्रोत र साधनले भ्याएसम्म उद्धारमा कुनै कमी नगरिएको बंगलादेशका मन्त्री कमललाई जानकारी गराउनुभयो । 

वार्तामा मन्त्री थापाले दुर्घटनामा निधन भएका बंगलादेशी नागरिकको शवको पहिचान तथा शव परीक्षणको प्रक्रिया जारी रहेको र त्यो सकिने वित्तिकै दु्रत गतिमा शव बंगलादेश लैजानका लागि व्यवस्था मिलाइने बताउनुभयो । 

बंगलादेशका मन्त्री कमलले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटना लगत्तै नेपाली पक्षले राहत तथा उद्धारमा देखाएको तत्परताप्रति धन्यवाद व्यक्त गर्नुका साथै आफूहरुले उद्धारमा कुनै किसिमको कमी भएको महसुस नगरेको स्पष्ट पार्नुभयो । 

आफूले विमान दुर्घटनामा परी घाइते भएर उपचार गराइरहेका १० बंगलादेशी नागरिकलाई काठमाडौँ मेडिकल कलेज, नर्भिक अस्पताल र ओम अस्पतालमा पुगेर अवस्थाबारे जानकारी लिएको र उपचारमा प्रति आफूहरु सन्तुष्ट रहेको मन्त्री कमलले बताउनुभयो । 

उहाँले ओम अस्पतालमा उपचारत डा रिजवानलाई थप उपचारका लागि उहाँका परिवारले सिंगापुर लैजान खोजेको र दुर्घटनामा परेका अन्य घाइतेलाई उपचारमा सहयोगका लागि बंगलादेशका हाडजोर्नी सम्बन्धी चिकित्सक र ‘बर्न’ सम्बन्धी चिकित्सकलाई नेपालमा पठाउन चाहेको भन्दै त्यसका लागि वातावरण सहज बनाउन गृहमन्त्री थापासँग आग्रह गर्नुभएको थियो । 

जवाफमा मन्त्री थापाले त्यस विषयमा नेपालस्थित बंगलादेशको दूतावासबाट प्रक्रिया पु¥याएर आग्रह गरिए सहजीकरण गर्न नेपाल सरकार तयार रहेको बताउनुभयो । 

वार्तामा दुबै मन्त्रीबीच आगमी दिनमा यस्तो दुर्घटना हुन नदिन र घटनाको छानबिन गर्न सहजीकरण गर्ने सहमति भएको छ । 

दुर्घटनामा परी ४९ जनाको निधन भएकामा २२ यात्रु र चार चालक दलका सदस्य गरी २६ बंगलादेशी नागरिक, २२ नेपाली र एक चिनियाँ नागरिकको निधन भएको थियो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!