इमान्दार भएर जनताको सेवामा लाग्न मन्त्री पुनको निर्देशन

Posted on: 22 Mar, 2018

चैत८,काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बदलिएको परिस्थतिअनुसार काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ । 

जलउत्पन्न प्रकोप व्यवस्थापन विभागमा आज आयोजित कार्यक्रममा उहाँले देश संघीय संरचनामा गइसकेकाले खटिएको ठाउँमा गएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । 

मन्त्री पुनले सरकारी सम्पत्तिको दुरुपयोग नगर्न कर्मचारीलाई सचेत गराउँदै “जनताको करबाट उठेको पैसाको दुरुपयोग भयो भने ठूलो अपराधसरह हुन्छ, त्यसैले तपाईहरुले कम बजेटमा धेरै काम गर्ने गरी योजना बनाउनुहोस्”, भन्नुभयो । 

जनताले विकासको परिणाम खोजेको छ, त्यसै अनुरुप तपाईहरु खरोरुपमा उत्रनुपर्छ, उहाँले जलवायु परिवर्तनका क्षेत्रमा ठूलाठूला चुनौती देखिएकाले त्यसको निराकरणका लागि तयार भएर बस्नसमेत कर्मचारीलाई निर्देशन दिनुभयो । 

विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले विभागद्वारा सम्पादित काम कारबाहीका बारेमा मन्त्री पुनलाई जानकारी गराउँदै वातावरणीय परिवर्तनका कारण देखिएका समस्या समाधान गर्न तथा जलउत्पन्न प्रकोप नियन्त्रणका लागि सबैको साझा प्रयास जरुरी रहेको बताउनुभयो । 

यसैबीच ऊर्जामन्त्री पुनले भोल्टेज समस्याका कारण पूर्र्वी तराई र पश्चिम तराईमा साँझको समयमा विद्युत् आपूर्तिमा समस्या आएको भन्दै तत्काल समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिनुभएको छ । 

भोल्टेजको समस्या समाधान गर्न र उपभोक्ताको गुनासो तत्काल सम्बोधन गर्न मन्त्री पुनले कार्यकारी निर्देशकलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!