काँग्रेसले निर्वाचनपछिको समीक्षा गर्दै

Posted on: 23 Mar, 2018

चैत ९, काठमाडौँ | प्रमुख विपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बस्ने बैठकमा गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न उक्त निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समीक्षा हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राससलाई बताउनुभयो । 

निर्वाचनमा पार्टीको पराजयबारे छलफल गर्ने कार्यसूची राखेर बोलाएको यो पहिलो बैठक हो भने निर्वाचनपछिको पार्टीको यो पाँचौँ केन्द्रीय कार्य समिति बैठक हो । 

यसअघि माघ ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकमा निर्वाचनको परिणामका बारेमा सामान्य समीक्षा भए पनि विस्तृत रुपमा आजको बैठकमा समीक्षा हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

एक दिनभन्दा बढी समयसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने उहाँले बताउनुभयो । निर्वाचनपछि काँग्रेसमा नेतृत्वको आलोचनाका साथ महासमिति भेलाको माग समेत उठ्दै आएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!