पार्टी एकताबाट कोही भाग्न सक्दैन: रक्षामन्त्री पोखरेल

Posted on: 24 Apr, 2018

वैशाख ११ काठमाडौँ | रक्षामन्त्री एवं नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी एकताबाट आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) उम्कन नसक्ने बताउनुभएको छ । 

नेपाल मुस्लिम इत्तेहाद संगठनले आज आयोजना गरेको ‘वर्तमान राष्ट्रिय परिस्थिति र मुस्लिम समुदायको अधिकार’ विषयको विचार गोष्ठी र निर्वाचित जनप्रतिनिधिको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकताबारे कुनै अन्योलमा नपर्न आग्रह गर्नुभयो । मिलाउन पर्ने सबै विषय मिलाएर निकट भविष्यमा औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने उहाँले बताउनुभयो । 

“हामी शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाबाट श्रेष्ठता हासिल गर्ने सिद्धान्त र संगठनको संरचनामा आधारित पार्टी हौँ । यही आधारमा एकतामा जानुपर्छ । एकताबाट भागेर कहाँ जाने ?” उहाँले भन्नुभयो, “बराबरी होइन, सम्मानजनक समझदारीमा जे आउँछ त्यो एमालेले मजाले पचाउँछ ।” 

विभिन्न पर्व बिदाबारे स्पष्ट पार्दै उहाँले भन्नुभयो – सबै धर्म र समुदायको आस्थालाई सम्मान गर्दै सरकारले आवश्यक प्रबन्ध गर्नेछ । जाति र धर्म विशेषलाई दबाउने काम हुने छैन । सम्बन्धित समुदायलाई बिदा दिइएको समयमा कुनै राष्ट्रिय काम वा लोकसेवा आयोगको परीक्षाजस्ता अवसरहरु जुधेमा त्यसलाई सरकारले व्यवस्थापन गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । 

मुस्लिम समुदायलाई संगठित गर्ने र अधिकार दिलाउने काममा एमाले जति अरु दलले अगुवाइ नगरेको जिकिर पनि उहाँले गर्नुभयो । 

संगठनले आफ्नो समुदायको बिदा कटौती नगर्न र मुस्लिम समुदायको अधिकार स्थापित गर्न आवाज उठाउँदै आएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!