कांग्रेसद्वारा अमृतको हत्या प्रति भत्सना

Posted on: 27 Jan, 2021

माघ १४, काठमाडौँ  । नेपाली कांग्रेसले बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नं. ३ का नेपाल तरुण दलका नेता अमृतबहादुर सिंहको हत्याप्रति भत्सना गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै घटनामा संलग्न आक्रमणकारीहरुको खोजी गरी उनीहरुलाई कडा भन्दा कडा कारवाही गर्न कांग्रेसले माग गरेको हो ।

मंगलबार बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नं. ३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय सिंहलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष बिकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडी कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

पछिल्लो क्रममा नेकपाका कार्यकर्ताहरुबाट नेपाली कांग्रेसका नेता/कार्यकर्ताहरुमाथि गम्भीर रुपले प्रहार हुन थालेको भन्दै नागरिकको बाँच्न पाउने संविधानप्रदत्त अधिकार माथि नेकपाका कार्यकर्ताहरुले खुलेआम चुनौति दिन थालेको कांग्रेसले बताएको छ ।

कांग्रेसले यस्ता घटना नदोहोर्याउन नेपाल कम्युनिष्ट पार्टीलाई चेतावनी दिंदै जिम्मेवार राजनीतिक दलको रुपमा प्रस्तुत हुन समेत आग्रह गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!