एमाले केन्द्रीय कमिटी बैठकमा टोली नेताले दिए यस्ता सुझाव

Posted on: 25 Sep, 2021

असाेज ९ काठमाडौँ  । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा समूह टोली नेताहरुले सुझाव राख्ने क्रम जारी छ । अहिलेसम्म लुम्बिनी र बागमती प्रदेश कमिटी टोली नेताले विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्तावका सन्दर्भमा सुझाव दिएका छन् ।

बैठकमा लुम्बिनी समूहका टोली नेता दलबहादुर रावलले दुईपटक भन्दा बढी कार्यकारी पदमा बस्न नहुने, फागुन २३ को फैसलापछि पनि एमालेमै रहेका पूर्व माओवादी नेताको जिम्मेवारी खोस्न नहुने लगायतका सुझाव दिएका छन् । उनले पार्टीमा ७० वर्षीय उमेर हद हटाउनुपर्ने र राख्नुपर्ने भन्ने दुवै मत आएकाले नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले पार्टी एमाले भएपनि राजनीतिक रुपमा नेकपाकै निरन्तरता हो भनेर लेख्न समेत सुझाव दिए ।

त्यस्तै बागमतीका टोली नेता आनन्द पोखरेलले पार्टी र सरकारको सम्बन्धबारे स्पष्ट व्यवस्था हुनुपर्ने बताए । सरकारमा जाने नेताहरुले पार्टीको निर्देशन मान्नुपर्ने सुझाव समेत उनले दिए । उनले पार्टी शुद्धीकरणको अभियान तलैसम्म लैजान सुझाव दिए। पोखरेलले आन्तरिक जीवनमा देखिएको समस्यालाई हल गरेर जानुपर्ने सुझाव समेत नेतृत्वलाई दिए । पार्टी अनुशासन लगायतका विषयमा ध्यान दिनुपर्ने बताउँदै उनले अनुशासनको उल्लंघन हुँदा समस्या ल्याएकोले कारवाही गर्ने हिसाबले जान सुझाव दिए ।

प्रदेश १ का टोली नेता हिक्मत कार्कीले सात प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समितिमा ७ जना उपाध्यक्ष बनाउन सुझाव दिए । उनले संक्रमणकालीन अवस्था भएकाले २२५ भन्दा बढी सदस्य भएको केन्द्रीय कमिटी बनाउन सुझाव दिए । कार्कीले तल्लो कमिटीमा बहु पदीय व्यवस्था गर्न सुझाव दिँदै केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा समावेशी ढंगको कमिटी बनाउनुपर्ने तल्लो कमिटीको सुझाव आएको नेतृत्वलाई स्मरण गराए । उनले विधान महाधिवेशनलाई नीति तथा महाधिवेशन भन्नुपर्ने सुझाव समेत दिए । ९ औं महाधिवेशन, चुनावी गठबन्धन, पार्टी एकता, सरकार सञ्चालन र सरकारलाई परमादेशबाट हटाइएको विषय राजनीतिक प्रतिवेदनमा प्रस्ट रुपमा आउनुपर्ने उनको भनाई थियो ।

प्रस्तुत प्रतिवेदनमाथि टोली नेताहरुले सुझाव राख्ने क्रम जारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!