एमाले वरिष्ठ नेतामा शाक्य, बागमती इञ्चार्जमा बादल कायमै

Posted on: 30 Sep, 2021

असोज १४, काठमाडौं। नेकपा (एमाले) ले बागमती प्रदेशको विवाद सल्ट्याएको छ। एमालेमा बागमती प्रदेशको इन्चार्ज को हुने भन्ने विवाद थियो। एमाले २ जेठ २०७५ मा फर्किएको अवस्थामा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य इञ्चार्ज हुनुपर्ने माधव नेपाल छोडेर एमालेमा बसेका नेताहरूको माग थियो।

अध्यक्ष ओली भने माओवादी छोडेर एमालेमा बसेका रामबहादुर थापा ‘बादल’लाई नै निरन्तरता दिन चाहन्थे। एमालेले त्यही विवादलाई बिहीबार सल्ट्याएको छ। विधान महाधिवेशनको पूर्वसन्ध्यामा थापालाई इञ्चार्जमा कायम राखेर शाक्य वरिष्ठ नेता हुने सहमति जुटेको छ। 

२०७५ जेठ २ अघि संयोजक रहेकी अष्टलक्ष्मी शाक्यलाई वरीयतामा बादल भन्दा माथि राखिएको छ। सहमतिअनुसार ४ सय ७७ सदस्यीय प्रदेश कमिटीमा ८ जना पदाधिकारी तय भएको छ। सहइञ्चार्जमा कृष्णा गोपाल श्रेष्ठ, अरुण नेपाल, शेरबहादुर तामाङ काशीनाथ अधिकारी र डोरमणि पौडललाई चयन गरिएको छ।

‘बादलकै इन्चार्जसिमा हाम्रो कमिटीले निर्णय गरेर पठाएको छ,’ प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले भने, ‘स्थायी कमिटीले थप निर्णय गर्नुपरे गर्छ। हाम्रो निर्णयचाहिँ यही हो।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!