विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाक्य

Posted on: 30 Sep, 2021

असोज १४, काठमाडौं। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २५ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएकी छन्। एमालेका १३ प्रदेशसभा सदस्य माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेपछि अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन्।

मुख्यमन्त्री शाक्यले सरकार टिकाउन साना दलसहित अन्य दलहरूसँग गठबन्धनको प्रयास गरेकी थिइन्। उनको उक्त सफल हुन सकेको छैन। गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको नेकपा एमालेको सरकार पार्टी विभाजन पछि अल्पमतमा परेको थियो। विश्वासको मत नपाउने अवस्था भए पनि आफू सामना गर्न तयार रहेको उनले बताइन्।

५६ सांसद सहित एकल बहुमत रहेको एमाले फुटेपछि ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक सांसद संख्या नभएपछि शाक्यले विश्वासको मत लिनुपरेको हो। संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रदेश सभामा प्रस्ताव राख्नुपर्ने व्यवस्था छ।

वाग्मती प्रदेशमा विपक्षी गठबन्धनले अझै मुख्यमन्त्री टुंग्याउन सकेको छैन। नेकपा (एमाले) विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) ले प्रदेशमा औपचारिक मान्यता पाउँदासम्म सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने भन्ने विषय टुंगो लागेको छैन। नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको सरकार आफ्नो दलले नेतृत्व गर्ने भनेर बताउँदै आएका छन्। नेतृत्वबारे टुंगो लगाउन नसक्दा गठबन्धनभित्रै असमझदारी उत्पन्न भएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!