एमाले विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

Posted on: 01 Oct, 2021

असोज १५ ,  काठमाडौं। नेकपा एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने भएका छन्। सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादी केन्द्र ब्युँताउँने फैसलापछि एमाले रोजेका साहले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए।विधान महाधिवेशन सुरु हुनुपूर्व शुक्रबार बिहान बानेश्वरमा भएको आफूनिकट भेलामा

साहले सहभागी नहुने निर्णय गरेका हुन्। आईटी आर्मीका प्रमुख चन्द्रभूषण साहका अनुसार प्रतिनिधि चयनमा कनिष्ठलाई स्थान दिइएको, पूर्वमाओवादी नेता कार्यकर्तालाई पार्टीमा यथोचित स्थान नदिइएको भन्दै विधान महाधिवेशनमा सहभागी नहुने निर्णय गरिएको हो । माओवादी केन्द्रमा स्थायी कमिटी सदस्य रहेका साहलाई एमालेमा भने केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो।

त्यस्तै सर्वोच्च अदालतले पार्टी एकता भंग गरी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँताए पनि आफूहरूले नेकपा (एमाले) लाई नेकपाकै निरन्तरतामा बुझेर एकताकै स्पिरिटमा कार्य सञ्चालन गर्न जोड दिए पनि पार्टी नेतृत्वबाट उक्त कार्य नभएको साहको आरोप छ। त्यसैगरी तत्कालीन नेकपाकै विधानअनुसार पार्टी चल्नुपर्ने पनि साहको माग छ।

यसअघि असोज ८ गतेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे फरक मत प्रस्तुत गरेका थिए। पछिल्लो समय साह एमालेका बैठकमा जान छाडेका थिए। त्यस्तै उनी गृहजिल्ला रौतहटमा आईटी आर्मीको नाममा विभिन्न कार्यक्रममा व्यस्त रहँदै आएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!