ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाए : केसी

Posted on: 01 Oct, 2021

असोज १५ , काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको सरकार संवैधानिक व्यवस्थाअनुसार नै बनेको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ बागलुङद्वारा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज भएको बताउँदै उनले अहिलेका पाँच दलीय गठबन्धन टिक्ने वा टुक्रिने भन्ने परिस्थितिले नै निर्धारण गर्ने बताएका छन् । सरकारले ल्याएको २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए दल विभाजन गर्न सकिने प्रावधान राखेर राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भइसकेपछि अध्यक्ष केसीले यसबारे मुख खोलेका हुन् ।

त्यस क्रममा उनले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाए । ‘व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ ।’ उनले भने, ‘दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदै छ ।’

दलहरू सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुने हुँदा आफूहरू सरकारमा बसेर भन्दा प्रतिपक्षमै बसेर खबरदारी गर्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!