गठबन्धनकाे बैठक बस्न सकेन, मन्त्रीमण्डल विस्तार कहिले ?

Posted on: 01 Oct, 2021

असोज १५ काठमाडाैं। आज बस्ने भनिएको सत्ता गठबन्धनको बैठक अनिश्चित भएको छ । आइतबार यता सत्ता गठबन्धनको बैठक बस्ने भने पनि बस्न सकेको छैन । जसले गर्दा मन्त्रिमण्डल विस्तारमा ढिलाइ भइरहेको छ । आइतबारको बैठकले तत्काल अर्को बैठक बसेर मन्त्रालय बाँडफाँट गर्दै मन्त्रिमण्डल विस्तार गर्ने सहमति गरेको थियो । 

बैठक बस्न नसक्नुको कारणबारे गठबन्धनकै नेताहरु नाजवाफ छन् । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्वस्थ भएको कारण देखाउँदै बैठक सारिरहेका छन् । आइतबारको बैठकमा देउवाले मंगलबारभित्र नै बैठक बसेर बुधबारसम्ममा मन्त्रालय बाँडफाँट टुंग्याउने बताएका थिए ।

तर, उनले त्यसयता बैठक नै नबोलाएपछि गठबन्धनकै नेता अन्योलमा परेका हुन् । ‘बुधबार नै बैठक राखेर टुङ्ग्याउने कुरा थियो तर शुक्रबार भैसक्यो बैठक बस्ने तरखर अझै देखिएको छैन’ गठबन्धनका एक नेताले भने, ‘प्रधानमन्त्रीले बैठक नबोलाएसम्म मन्त्रिपरिषदले पूर्णता पाउने देखिँदैन । उहाँले किन नबोलाएको हो बुझ्न सकिएन ।’

एकीकृत समाजवादीका नेता विरोध खतिवडा अध्यक्षले अधिकार प्रत्यायोजन गरिसकेकाले माधव नेपाल विरामी भएकाले गठबन्धनको बैठक बस्न नसकेको भन्ने समाचारमा सत्यता नभएको बताए । ‘अध्यक्षले अधिकार प्रत्यायोजन गरिसक्नुभएको छ । उहाँ उपस्थित नभएर निर्णय गर्न कुनै अप्ठेरो छैन’, उनले भने ।

सोमबारदेखि अध्यक्ष नेपाल अस्वस्थ भएका थिए । सोमबार मंगलबार घरमै आराम गरेका नेपाल बुधबारदेखि शिक्षण अस्पतालमा भर्ना भएका छन् । अध्यक्ष नेपालको स्वास्थ्यमा केही सुधार आएपनि उनको तत्कालै डिस्चार्ज हुने सम्भावना नरहेको बताइएको छ । ‘स्वास्थ्यमा केही सुधार भएको छ । तर, अस्पतालले डिस्चार्जको कुरा गरेको छैन । सम्भवतः शनिबारसम्म डिस्चार्ज हुन्छ कि भन्ने छ’, अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । नेता नेपाललाई खोकी र ज्वरोले सताएको थियो ।

गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६ मन्त्रीको भरमा काम चलाइरहेका छन् । त्यसयता राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको नेताहरुले बताउँदै आएका थिए । तर, गत साता मात्रै सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिसकेको छ ।

यसबीचमा गठबन्धनबीच काँग्रेसले प्रधानमन्त्रीसहित ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबाट –६, ६ जना मन्त्री हुने सैद्धान्तिक सहमत भएपनि कुन मन्त्रालय कसले पाउने भन्ने ठोस निर्णय भैसकेको थिएन ।

माओवादी केन्द्र र काँग्रेसका २–२ जना गरी सुरुमा ४ मन्त्री बनाएका देउवाले दुई सातापछि एकजना राज्यमन्त्री र साढे २ महिनापछि परराष्टमन्त्री नियुक्त गरेका थिए । तर, नेकपा एकीकृत समाजवादी र जनता समाजवादबाट हालसम्म सरकारमा प्रतिनिधित्व भएको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!