हामी जनवादी व्यवस्थाको पक्षधर हौं : अध्यक्ष केसी

Posted on: 09 Oct, 2021

असोज २३ , काठमाडौँ | राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई दुर्गतितिर धकेलिरहेको बताएका छन्। राष्ट्रिय जनमोर्चा निकटको अखिल (छैठौं) को राष्ट्रिय सम्मेलनमा राजनीतिक पार्टीहरूमा स्खलन हुँदा पदीय स्वार्थको खेल भइरहेको र त्यसले मुलुकलाई दुर्गतितिर धकेलिरहेको बताएका हुन्।

उनले ठूला दलहरूमा देखा परेको राजनीतिक विकृति र विसंगतिको परिणामले मुलुक अनिर्णयको बन्दी बनिरहेको बताए। ‘देशी तथा विदेशी तत्वहरूले नेपालको राष्ट्रियता, स्वतन्त्रता र स्वाधीनतामाथि धावा बोलिरहेका छन्, त्यसलाई मलजल हुने गरी दलाल पार्टीहरू लागिरहेका छन्’ उनले भने।

केसीले पार्टीभित्रको विवाद वामपन्थी संर्किणवादको संकेत भएको बताए। ‘आफ्नो कुनै क्रान्तिकारी लाइन दिन नसक्ने तर पार्टीले दक्षिणपन्थी लाइन लियो भन्ने प्रवृत्ति नै वामपन्थी संर्किणवादको उदाहरण हो,’ उनले भने। नेपालको शिक्षा नीतिले विदेशीको दलाली र चाकडी गर्ने जनशक्ति तयार गरिरहेको उनको भनाई छ। उनले अहिलेका सत्ताधारी नेतृत्व राजनीतिक रूपमा नै विचलित भइसकेकाले त्यस्तो नेतृत्वबाट सही शिक्षा नीति बन्नै नसक्ने दाबी गरे। ‘हामी जनवादी व्यवस्थाको पक्षधर हौं, तर यो संसदीय व्यवस्थाको विकल्प छैन। अहिले अन्य व्यवस्थाको सम्भव छ ?,’ उनले भने।


यस बिषयमा तपाइको प्रतिक्रिया...!