जावलाखेलमा पहिलो पटक आमसभा गर्दै विवेकशील साझा

Posted on: 04 Dec, 2021

मंसिर १८, काठमाडौं | विवेकशील साझा पार्टीले पहिलो पटक उपत्यकामा आमसभा गर्ने भएको छ। सिटिजन्स डिस्कसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँगको एकीकरण घोषणा गर्न विवेकशील साझाले आज सभा गर्न लागेको हो।

पार्टी प्रवक्ता शरदराज पाठकका अनुसार दिउँसो १ बजे ललितपुर जावलाखेल चोकको खुला ठाउँमा सभा हुने छ। त्यसअघि उपत्यकाका विभिन्न ठाउँबाट झाँकीसहित र्‍याली निकालिने उनले जानकारी दिए। गत २८ कात्तिकमा विवेकशील साझाले दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो। सभामा पार्टीका अध्यक्ष मिश्र, नेता किशोर थापा, तत्कालीन सिटिजन्स डिस्कसन फोरमका संयोजक कर्णबहादुर शाही, राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको पाठकले बताए।

उनका अनुसार एकीकृत पार्टीको नाम विवेकशील साझा नै रहने छ। पार्टीले अध्यक्ष मिश्रको ‘विचारभन्दा माथि देश’ दस्ताबेज पारित गर्दै स्थानीय तहलाई पुनर्संरचना गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रहको एजेण्डालाई अंगीकार गरेको छ। पार्टीले निःशुल्क र गुणस्तरीय शिक्षा र स्वास्थ्य, दलीय पेशागत संगठनको खारेजीजस्ता राजनीतिक कार्यक्रम पनि अघि सारेको छ। ‘शनिवार गरिने एकीकरण घोषणा सभालाई हामीले रूपान्तरणकारी शक्ति निर्माणको अर्को एक कदम मानेका छौं,’ पाठकले भने, ‘एकता सभापछि पार्टीले देशैभर विभिन्न आन्दोलन र संघर्षका कार्यक्रम सञ्चालन गर्ने छ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!