फुटपाथ नै हेर्दैनन् नगर प्रहरी

Posted on: 16 Jan, 2017

माघ ३, काठमाडौँ । ललितपुरको मुख्य व्यापारिक केन्द्र लगनखेल बजारमा दिउँसो ३ बजेपछि खुट्टा राख्ने ठाउँ भेटिँदैन । फुटपाथ व्यापारीले लगनखेल बसपार्कको छेउछाउ र मंगलबजार प्रवेश गर्ने मुख्य सडक पूरै घेरा हाल्छन् । 

फुटपाथ पसल व्यवस्थापनका लागि खटाइएका ललितपुर उपमहानगरपालिका अन्तर्गत नगरप्रहरी पनि फुटपाथको भीडमा देखिन्छन् । उनीहरू फुटपाथ व्यापार व्यस्थापन गर्नुको साटो मूकदर्शक बनेका छन्। नगरप्रहरी साँझपख बसपार्कछेउ उभिएर गफ गरिरहेका भेटिन्छन् ।

बजारको केन्द्रमा गरिएको फुटपाथका व्यापारका कारण हिजोआज लगनखेल बजारमा पुग्ने जो–कोहीलाई पनि बजार छिचोल्न मुस्किल पर्न थालेको छ । व्यापारीले सडक समेत अवरुद्ध गरी राखेको फुटपाथ व्यापार हटाउन ललितपुर उपमहानगरपालिकाले चासो नदिएका कारण सहर अस्तव्यस्त बनेको छ ।

उसै त साँघुरो ठाउँ, त्यसमाथि फुटपाथ व्यापारीले सडक नै छेकेर व्यापार गर्न थालेपछि त यहाँ हिँडिसक्नु हुँदैन,’ बुधबार बसपार्क भेटिएका भक्तपुरका श्रीकृष्ण ढकालले भने, ’यसरी जथाभावी फुटपाथ पसल राख्दा बजार नै अशोभनीय देखिएको छ ।’

यो लगनखेल बजारको नौलो समस्या भने होइन । नगरप्रहरीले फुटपाथ व्यापारीलाई व्यवस्थापन गर्न नसक्दा लामो समयदेखि त्यसको असर सर्वसाधारणमा परेको बताउँछन्, बुधबारै लगनखेल बसपार्कमा भेटिएका ललितपुर लेलेका प्रेम तिमिल्सिना । उनी भन्छन्, ’लगनखेल बजार ललितपुरवासीको किनमेल गर्ने मुख्य थलो हो, सहर अवस्थित बन्दै जाँदा गाउँबाट किनमेलको व्यक्ति यहाँको भद्रगोल देखेर दिक्क हुन्छन् ।’

फुटपाथ व्यापारीले लगनखेल हुँदै मंगलबजार प्रवेश गर्ने मुख्य सडकमा व्यापारिक सामान राख्ने गरेका छन्। जसले गर्दा लगनखेल हुँदै पाटन प्रवेश गर्ने विदेशी पर्यटक र सर्वसाधारणलाई उक्त मार्गमा हिँड्न मुस्किल परेको छ ।

व्यापारीले सडकलाई व्यापारिक केन्द्र बनाउँदा त्यसको समाधानको जिम्मेवारी पाएको ललितपुर उपमहानगरपालिका भने मौन छ । उपमहानगरपालिका अन्तर्गतको नगरप्रहरीले सक्रिय भएर त्यसको व्यवस्थापन नगरेको फुटपाथ व्यापारीले सहर नै अस्तव्यस्त पारेका हुन् ।

उपमहानगपालिकाका नगरप्रहरी प्रमुख डिएसपी कदमलाल महर्जनले नगरप्रहरीको निगरानीले पहिलेभन्दा अहिले फुटपाथ व्यवस्थित भएको दाबी गरे । ’हामीले अव्यवस्थित फुटपाथ व्यापारलाई बेवास्ता गरेको होइन, दिनमा तीन नगरप्रहरी लगनखेलमा खटिएकै हुन्छन्,’ नगर प्रहरी डिएसपी महर्जनले भने, ’पहिलेभन्दा अहिले फुटपाथ व्यवस्थित बनेको छ।’

नगरप्रहरी प्रमुखले व्यवस्थित बनेको दाबी गरे पनि हिजोआज लगनखेल बजार फुटपाथ व्यापारीले पूरै ढाकेका छन्। ललितपुरको दक्षिणी भेग, भट्टेडाँडा, लेले, गोटिखेल, बगुवा, प्युटार लगायत ग्रामीण क्षेत्रका बासिन्दाको मुख्य व्यापारिक थलो लगनखेल नै हो ।

उपमहानगरपालिकामा नगरप्रहरी संख्या ३६ छ तर नगर क्षेत्र धेरै ठूलो छ,’ डिएसपी महर्जनले भने, ’हामीले नगरप्रहरीलाई सबैतिर पहिचालन गर्न मुस्किल परेको छ ।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!