हुम्लाका विरामी एक्सरे गर्न ५० हजार खर्च गर्न बाध्य

Posted on: 20 Aug, 2017


रेशम राज रोकाया/भदौ ४, हुम्ला । आफ्नो जोर्नीको दुखाई भए पछि सर्केगाड गाउँपालिका ८ का लक्ष्मी रोकाया एक्सरे गर्नको लागि साविकको जिल्ला अस्पताल सिमिकोटमा पुगे । 

त्यहाँ डा. नविन रोकाया एक्लै स्वास्थ्य जाँच गर्न १ सय हाराहारीको संख्यामा रहेका विरामी जाँच गर्नमा नै व्यस्त देखिन्थे । उता जिल्ला स्वास्थ्य प्रमूख डा. स्मृती महत महालेखा परिक्षण गर्नको लागि एक टोली आएको हुनाले त्यतै व्यस्त देखिए । 

रगत, पिसाब, दिशा लगायतको परिक्षण गर्नको लागि ल्याब चालु हालतमा रहेको देखियो । भिँडमा पेमा लामालाई एक्सरे गर्नको लागि डा. नविन रोकायाले सिफारिस लेख्छन् । 

तर विरामी एक्सरे गर्ने कर्मचारी खोज्दै अस्पताल पसिरमा दिन भरी नै खोजिरहेको पाईएको थियो । एक्सरे गर्ने कर्मचारी विगत ४ महिना देखी विदामा बसी हिजो मात्र जिल्ला अस्पतालमा पुगेको जानकारी हुन्छ । डा. रोकायाले ४ पटक आफुलाई सो सम्वन्धमा के भएको हो भन्ने बुझ्नको लागि बोलाउँदा समेत आएनन् । 

पाँचौं पटकको बोलावट पछि रेडियोग्राफर दिपक कार्की डाक्टरलाई भेट्न आए । के भएको हो भन्ने बारेमा बुझ्दा बल्ल पो थाहा भयो एक्सरे मेसिन मात्र भएको र आवश्यक पर्ने सामान केही नभएको रेडियोग्राफर दिपक कार्कीले बताउनु भयो ।

 यो जानकारी पछि सेवाग्राहीले एक्सरे गर्न नपाएर घर फर्किए । यो हो हुम्ला जिल्लाको जिल्ला अस्पतालको वास्तविकता । हुम्लाका विरामीले ४ महिना अघि देखी यस्तो समस्या भोग्दै आईरहेका छन् । 

सामान्य एक्सरे सेवा जिल्लामा नहुँदा विरामीले हवाईजहाज चढेर नेपालगञ्ज र सुर्खेतमा झर्नु परेको छ, जसबाट ५० हजार भन्दा बढी खर्च गरेर उपचार गर्नु परेको विरामी रोडिकोटका जयदेवी रोकायाले बताउनु भयो । अन्य लाईनमा रहेका विरामी भन्दै थिए “धनीले मात्र बाँच्न पाउने हाम्रो परिपाटी कहिले अन्त्य हुने हो, गरिबले त औषधी नपाई मर्नु बाहेक कुनै उपाय नभएको बताए ।” 

सरकारले गाउँपालिका र वडा पालिकामा सुविधा सम्पन्न अस्पताल सुविधा सहित सिँहदरबारको सुविधा स्थानिय तहलाई सुम्पिएको जनाए पनि हुम्ला जिल्लामा नै एक्सरे गर्न नपाउँदा हुम्ली विरामीले ५० हजार लगानी गरी सुर्खेत र नेपालगञ्ज जानु परेको छ । हुम्लाकै सुविधा सम्पन भनिएको जिल्ला अस्पतालमा यस्तो सुविधा नहुनुले गाउँपालिका स्तरमा सुविधा सम्पन्न अस्पताल कसरी स्थापना होलान् भन्नेमा सेवाग्राहीले प्रश्न गरिरहेका थिए ।

एक्सरे भवन र मेसिन उद्घाटनमा मात्र सिमित

जिल्ला अस्पतालमा ४ महिना अघि एक्सरे भवन सामुदायिक विकास कार्यक्रमको सहयोगमा निर्माण सम्पन्न भई छुट्टै शाखा बनाईएको भएता पनि हाल भवन बाहेक केही सुविधा नभएको खुल्न आएको छ । उद्घाटनको दिन एकछिन मात्र सञ्चालन गरिएको सो सेवा त्यस पछाडी कुनै विरामी सेवा लिन नपाई बन्द रहेको छ । उता रेडियोग्राफर आफु सरुवा लगायतको अन्य काम भएको भन्दै ४ महिना अघि देखी कार्यालयमा अनुपस्थित रहेको समेत डा. नविन रोकायाले बताउनु भयो । 

हाल जिल्ला अस्पताल, हुम्लामा भएको दरबन्दीमा काम गर्ने कर्मचारी महिनौं विदा लिएर बस्ने गरेको र सेवाग्राहीलाई सेवा नगर्ने डा. रोकायाको भनाई रहेको थियो । यस अघि सामान्य कार्यलय सहयोगी पनि कार्यालयको काममा नलागी व्यक्तिगत काममा लाग्ने गरेको तथ्य उजाग गर्नु भयो । 

आफु र कार्यलय प्रमूख डा. स्मृती महत स्थानिय भएकोले हुम्ला जिल्लालाई स्वास्थ्य क्षेत्रमा २ वर्ष मात्र बसेर भए पनि केही गरौं भन्ने सोच राखेको भएता पनि यहाँका कर्मचारीले सहयोग नगरेको प्रति डा. रोकाया के गर्ने र के नगर्ने भन्नेमा आफु अन्यौलमा रहेको बताउनु भयो । 

काम गर्ने जोश जाँघर छ, भरखर केही गरौं भनेर जिल्लामा आएको विहानै देखी बेलुका ५ बजे सम्म आवश्यकता अनुसार विरामीलाई सेवा दिँदै आएको भएता पनि यहाँको चलेको चलनलाई हटाउन आफु सदा लागि पर्ने समेत बताउनु भयो । 

कुनै कर्मचारी कार्यालयका हाजिर समेत गर्न नआउने र हाकिम र लेखापालले उनीहरुको तलव घरमा नै बुझाउन जानु पर्ने बाध्यता रहेको समेत अस्पताल स्रोतले जानकारी गराएको छ ।

यस्ता उपकरण र आवश्यक पर्ने सामानको लागि व्यवस्थापन समिति सामु बेला बेला भनेको भएता पनि अस्पताल व्यवस्थापन समितिले एक्सरे गर्ने सामान उपलव्ध नगराएको रेडियोग्राफर दिपक कार्कीले बताउनु भयो । 

कार्कीका अनुसार आवश्यक पर्ने सामानको बारेमा व्यवस्थापन समिति जानकार भएको भएता पनि हाल सम्म उपलव्ध नगरिए पछि आफु बेकामी भएको बताउनु भयो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!