सिमेन्ट उद्योगको मापदण्ड निर्धारण गर्न समिति गठन

Posted on: 23 Feb, 2018

फागुन ११, काठमाडौँ | उद्योग मन्त्रालयले सिमेन्ट उद्योगको मापदण्ड निर्धारण गर्न समिति गठन गरेको छ । 

मन्त्रालयले सञ्चालनमा रहेका तथा नयाँ उद्योगबाट हुनसक्ने सम्भावित प्रदूषण न्यूनीकरण तथा रोकथाम गर्न अपनाउनुपर्ने उपाय र सोका लागि जडान गर्नुपर्ने यन्त्र उपकरणको अनुगमन संयन्त्रका लागि उद्योग मन्त्रालय प्रविधि महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको हो । 

समितिको सदस्यमा खानी तथा भूगर्भ विभागका उपसचिव, वातावरण विभागका उपसचिव, गुणस्तर तथा नापतौल विभागका उपसचिव, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, नेपाल उद्योग परिसंघका प्रतिनिधि, नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधि र सदस्य सचिवमा प्रविधि तथा वातावरण शाखाका निर्देशक रहने व्यवस्था गरेको छ । 

उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले सिमेन्ट उद्योगको स्थापनाबाट जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई दृष्टिगत गरेर उक्त समिति गठन गरिएको जानकारी दिनुभयो । समितिले दुई महिनाभित्र सिमेन्ट उद्योग सम्बन्धी मापदण्ड तयार गरेर सोको प्रतिवेदन मन्त्रालयमा बुझाउने उहाँले बताउनुभयो । 

गठित समितिले आफ्नो कार्यविधि आफैँ बनाउनसक्ने र आवश्यक पर्ने विशेषज्ञ आफै नियुक्त गर्नसक्ने साथै अध्ययनका लागि चाहिने आवश्यक बजेट उद्योग मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले गर्ने व्यवस्था समेत गरेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!