बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा अर्धनग्न प्रदर्शन

Posted on: 18 Aug, 2018

भदौ २, काठमाडौं । बलात्कारीलाई फाँसी हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न  प्रदर्शन गरेका छन् । पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएका उनीहरु माथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । सो प्रदर्शनमा महिलाहरुका साथै तेस्रो लिंगी र पुरुषसमेत उपस्थित थिए ।


‘बलात्कारीलाई फाँसी दे’ भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रण भित्रै पनि उनीहरुले नाराबाजी गरिरहेका थिए । प्रर्दशनमा संलग्न ५ महिला, एक पुरुष र एक जना तेश्रो लिङ्गीलाई प्रहरीले सिंहदरबारस्थित वृत्तमा राखेको छ । 


उनीहरुले बलात्कारीलाई फाँसीको व्यवस्था गर्न माग गरेका छन् । मुलुकमा बलात्कारका घटना बढ्दै जानु र दोषीलाई कडा कारवाही नहुनु लगायत घटनाबाट आक्रान्त बनेको युवा पुस्ता यस अभियानमा संलग्न छन् । विशेष गरेर नयाँ पुस्ताका युवा युवतीहरुले सामाजिक सञ्जाल मार्फत नै बलात्कारीलाई फाँसी दिनुपर्ने अभियान चलाइरहेका छन् । मण्डलामा पनि सामाजिक सञ्जालमा सशक्त हुदै आएका युवायुवतीको उपस्थिति थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!