सरकारसँग ८ बुँदे सहमतिपछि यातायात मजदुरको आन्दोलन फिर्ता

Posted on: 21 Sep, 2018

असोज ५, काठमाडौं । विभिन्न माग राखेर आन्दोलित सवारी चालकहरू आन्दोलन फिर्ता लिन सहमत भएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको वार्तापछि ८ बुँदे सहमति गर्दै यातायात मजदुर गाडी चलाउन तयार भएका वार्तामा सहभागी यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले जानकारी दिए ।

मुलुकी संहिताको विरोध गर्दै आन्दोलित यातायात मजदुर र सरकारबीच सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् ।

सहमति अनुसार नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिलामा पठाउने भनिएको छ ।

दोस्रो बुँदामा ट्राफिक संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने र राष्ट्रिय राजमार्गमा निश्चित दुरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने उल्लेख छ ।

सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी घटनामा दोषी देखिएका जोसुकैलाई कारवाही गर्ने सुनिश्चित गर्ने, सवारी चालकलाई समय समयमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेबारे सरकारले सहमति जनाएको छ ।

ट्राफिक प्रहरीको व्यवहार परिवर्तनका लागि गृहले आवश्यक व्यवस्था मिलाउने, आन्दोलनका क्रममा गिरफ्तारीमा परेका सवारी चालकलाई आजै रिहा गर्ने लगायतका सहमति भएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!