राष्ट्रसङ्घमा पुनः निर्माणसम्बन्धी छलफल हुने

Posted on: 25 Sep, 2018

असोज ९, काठमाडौँ (रासस) | संयुक्त राष्ट्रसङ्घको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित राष्ट्रसङ्घ भवनमा ‘विपद् पश्चात्को आवश्यकता आङ्कलन र पुनः निर्माण तथा पुनः स्थापना योजना’ विषयक कार्यक्रम आयोजना हुने भएको छ । 

कार्यक्रममा राष्ट्रिय पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनः निर्माणसम्बन्धी प्रस्तुति गर्नुहुनेछ । भूकम्पपश्चात् नेपालको पुनः निर्माण तथा पुनः स्थापनासम्बन्धी अनुभव र भावी कार्ययोजना उहाँले प्रस्तुत गर्नु हुने कार्यक्रम रहेको छ । असोज १२ गते शुक्रबार आयोजना हुने कार्यक्रममा भाग लिने क्रममा ज्ञवाली आज राति अमेरिकातर्फ प्रस्थान गर्दै हुनुहुन्छ । 

“कार्यक्रममा हुने प्रस्तुतिले नेपालको पुनः निर्माणमा अन्तर्राष्ट्रिय समुदायबाट आर्थिकलगायत अरू सहयोग जुटाउन मद्दत पुग्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । 

कार्यक्रममा पुनः निर्माण र पुनः स्थापनासम्बन्धी हालसम्मको प्रगति र वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुने प्राधिकरणले जनाएको छ । राष्ट्रसङ्घ, युरोपियन युनियन र विश्व बैंकले संयुक्त रुपमा आयोजना गर्ने कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरिया लगायतका मुलुकका साथै राष्ट्रसङ्घ, युरोपियन युनियन एवं विश्व बैंक जस्ता संस्थाको प्रस्तुति रहनेछ । 

अमेरिकामा रहनुहुँदा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंक र राष्ट्रसङ्घका उच्च अधिकारीहरुसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम पनि छ । ज्ञवाली असोज १४ गते आइतबार स्वदेश फर्कनु हुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!