महोत्तरीमा शिशु हत्याको अभियुक्त पक्राउ

Posted on: 20 Oct, 2018

कात्तिक ३, इटहरी (रासस) | महोत्तरी औराही–१ को ८ महीने शिशुको अपहरण गरी यौन दुव्र्यवहारसहित हत्या गरी फरार रहेका एक अभियुक्तलाई आज सुनसरीबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा महोत्तरी साविक हात्तीसार गाविस– १ का ३६ वर्षीय भरत साह रहेको प्रहरीले जनाएको छ । गत भदौ दोस्रो हप्ता शिशुलाई घरबाट अपहरण गरी करणीपछि हत्या गरेर भारततिर फरार रहेका अभियुक्त साह प्रहरीको उच्च खोजीमा रहेको थियो । सप्तरीबाट सुनसरीतिर आउने क्रममा कोशी ब्यारेज क्षेत्रमा प्रहरीले चेकजाँच गर्दा उनलाई पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । 

महिला तथा बालबालिका विरुद्धको अपराधमा प्रहरीले अपनाएको उच्च सुरक्षा रणनीति तथा सुनसरी प्रहरीले अघि बढाएको आपराधिक गतिविधि नियन्त्रण अभियानअन्तर्गत सूक्ष्म जाँच गर्ने कार्यमा खटिएका प्रहरी टोलीले अभियुक्तको हुलियाका आधारमा आज १ बजेतिर उनलाई नियन्त्रणमा लिन सफल भएको उहाँले बताउनुभयो । 

पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाको हिरासतमा राखिएको पनि प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!