दाङमा विवाद मिलाउन गएका प्रहरीमाथि खुकुरी प्रहार, ३ जना घाइते

Posted on: 16 Nov, 2018

कार्तिक ३०, दाङ । दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार भएको छ ।

जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं.२ अमुवामा दुई समुहबीच भएको विवादलाई मिलाउन गएका ईलाका प्रहरी कार्यालय खिलतपुरमा कार्यरत प्रहरी जवान चन्द्रप्रकास वली माथि खुकुरी प्रहार भएको हो ।

प्रहरी जवान वलीको टाउकोमा १० वटा टाँका लागेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए । उनका अनुसार स्थानीय थप दुई जना माथि पनि चोट लागेको छ । स्थानीय बिशाल रोका र नैनबहादुर नेपालीको टाउकोमा सामान्य चोट लागेको प्रहरी निरीक्षक चौधरीले बताए ।

खुकुरी प्रहार गरेको आरोपमा शान्तिनगर गाउँपालिका २ अमुवा निबासी २५ बर्षीय चन्द्रवहादुर नेपाली, २० बर्षीय नैनसिङ नेपाली, २२ बर्षका सुकलाल नेपाली र १६ बर्षका बीरबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विवाद भएको सूचनाको आधारमा आफुहरु त्यहाँ पुगेर विवाद मिलाउने क्रममा खुकुरी प्रहार भएको प्रहरीले बताएको छ । उनीहरुको साथबाट खुकुरी, बञ्चरो, खुर्पा लगाएतका घरेलु हतियार बरामद गरिएको छ । प्रहरीले आरोपीलाई ज्यानमार्ने उद्योग सम्बन्धि मुद्दा चलाउने तयारी गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!