पप्पु कन्स्ट्रक्सन कालोसूचीमा

Posted on: 20 Nov, 2018

मंसिर ४, काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनलाई सम्पूर्ण टेण्डर प्रक्रियामा रोक लगाएको छ ।

ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाल पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरे अनुसार कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई कुनै पनि टेण्डर प्रक्रियामा भाग लिन नपाउने गरी रोक लगाइएको हो ।

मंगलबार कार्यालयले जारी गरेको सूचनामा सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी पर्न सक्ने देखिएको उल्लेख छ ।

कालोसूचीबाट नहटेसम्म पप्पुलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन पनि कार्यालयले आग्रह गरेको छ ।  नहर निर्माणको काम समयमै नसकेको भन्दै सिक्टा आयोजनाले २९ कात्तिकमा निर्माण कम्पनी कोस्टाल पप्पु जेभीसँगको ठेक्का सम्झौता तोड्दै कालोसूचीमा राखेको थियो ।

पप्पुले सन् २०१६ जुन २० मा उक्त आयोजनाको २३ किलोमीटरकाे डुडुवा शाखा नहर निर्माण गर्ने ठेक्का पाएको थियो ।  तर,  पप्पुले ठेक्का सम्झौता अवधि सकिँदा समेत जम्मा ७ प्रतिशत मात्र काम गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!