निर्मला हत्या प्रकरण: यसअघि पनि पक्राउ प्रदिप रावल 'क्लिनचिट' पाएर छुटेका थिए !

Posted on: 10 Dec, 2018

मङ्सिर २४, काठमाडौं | निर्माला पन्तको हत्यामा संलग्न भनिएका भीमदत्तनगर–१८ का प्रदीप रावल अहिले केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले रावालसंग सार्वजनिक अपराध मुद्दा अन्तर्गत बयान लिइरहेका छन् । 


मङ्सिर १७ गते काठमाडौंबाट पक्राउ परेका रावल वास्तविक हत्यारा हुन् या होइनन् भन्नेबारे सर्वत्र चासो छ । लागू औषध प्रयोकर्ता (ड्रगिस्ट) समेत रहेका १८ वर्षीय प्रदीपले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई सुरुवाती दिनमा सकारात्मक बयान दिएको कुरा केन्द्रीय अनुसन्धान ब्युरोबाटै बाहिरिएको थियो । 

निर्मला हत्याबारे अनुसन्धान गर्न कञ्चनपुर पुगेको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अङ्गुर जिसी नेतृत्वको टोलीले चार महिनाअघि उनै रावललाई पक्राउ गरेर लामो अनुसन्धान गरेको थियो ।

प्रदीप साउन २० गते मोटर ग्यारेजबाट पक्राउ परेका थिए र त्यसबेलाको प्रारम्भीक बयानमा आफू भारतस्थित बनबासस्थित मामाघर गएको बताएका थिए । निर्मलाको हत्याबारे सोधपुछ गर्दा उनले ‘झ्याप भएको थिएँ, घट्नासम्बन्धी केही थाहा छैन’ भनेका थिए । तर अनुसन्धान अधिकृतहरूले उनीसँग लामो इन्ट्रोगेसन गरेका थिए ।  

प्रदीपको बाबु ठगी मुद्दामा प्रहरीको फरार सूचीमा छन् । एउटी दिदी कञ्चनपुरमा बस्छिन्, अर्की काठमाडौंमा । सामान्य परिवारका प्रदीप प्रोफेसनल मान्छे नभएकाले प्रहरीले ‘अब आउनुपर्दैन्’ नभनेसम्म तारेख धाउने थिएन । 

दिलिपसिंह विष्ट पक्राउ परेपछि प्रदीपले बल्ल कञ्चनपुर छाडेका थिए । तर पछिल्लो समय प्रदीपलाई नै हत्यारा करार गर्न खोजिएपछि धेरैले पुनः निर्मलाको हत्यारा पत्ता लाग्नेमा आशङ्का गर्न थालेका छन् । चक्रदेवी बडुभन्दा पहिले पक्राउ परेका रावल त्यतिबेला घटनामा संलग्न भएको पुष्टि नभएपछि छुटेका थिए । 

त्यतिबेला उनको डीएनए परीक्षण गरिएको थिएन्, अहिले सार्वजनिक अपराधमा अल्झाएर उनको डीएनए स्याम्पल लिइएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार उनको डीएनएको रिपोर्ट ‘नेगेटिभ’ आइसकेको छ । 

तर केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (डीआईजी) निरज शाहीले रिपोर्ट आएपछि कञ्चनपुरमा पठाएर जिल्ला सरकारी वकिल कार्यालयको रोहबरमा मात्र खोलिने दाबी गरे ।  

कञ्चनपुरमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसँग प्रदीपले आफूले गाँजा खाने गरेको स्वीकार गरेका थिए । निर्मलाबारे सोध्दा प्रदीपले आफु खाएर झ्याप भएको र घट्नाबारे केही थाहा नभएको बताएका थिए | 

निर्मला हत्या प्रकरणमा एक पटक ‘क्लिनचिट’ पाएपछि भदौ ५–७ गतेतिर प्रदीप काठमाडौं आएका थिए । 

प्रदीप जस्ता लागू औषध युजरहरूले नसाको सुरमा बलात्कार–हत्या गर्न सक्ने भए पनि दिनकै खुरु–खुरु तारेख धाए पनि डीएसपी अङ्गुर जिसी नेतृत्वको टोलीले उनलाई ‘क्लिन चिट’ दिएको थियो । 

त्यतिबेला प्रहरीले अनुसन्धान गरेका जीवन घर्ती मगरले पनि निर्मलालाई खुकुरी हानेर मारेको बयान दिएका थिए । तर अपत्यारिलो बयान अनुसन्धान अधिकृतहरूले पत्याएनन् ।

पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरोले ६ दिनदेखि प्रदीपमाथी सोधपुछ गरिरहेका छन् | प्रदीपले पहिलो ‘मत झ्याप थिएँ, मलाई त थाहा नै छैन’ भनेका छन् । 

प्रहरी स्रोतका अनुसार पछिल्लो समय उनले ‘मलाई काटे नि काट्नुस्, मारे नि मार्नुस्, मैले हुँदै होइन्’ भन्न थालेको प्रहरी स्रोतको भनाइ छ । 

प्रदीपसँगै केन्द्रीय अनुसन्धान ब्युरोले १६ वर्षीय विशाल चौधरीमाथि पनि अनुसन्धान गरिरहेको छ । उमेर नपुगेका कारण विशालाई हिरासतमा राखिएको छैन ।

प्रहरीले अहिलेसम्म १३ जनाको डीएनए परीक्षण गरिसकेको छ । पछिल्लो सयम प्रदीप, विशाल र अर्का एकजनाको डीएनए परीक्षणका लागि ‘ब्लड स्याम्पल’ पठाइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!