मौसमको पूर्व सूचना दिने राडार निर्माण गरिएपनि सञ्चालनमा अन्यौल

Posted on: 18 Jan, 2019

माघ ४, सुर्खेत । जल तथा मौसम विज्ञान विभागले  नेपालकै पहिलो मौसमको पूर्व सूचना दिने राडार सुर्खेतमा निर्माण गरेपनि यसको सञ्चालनमा अन्यौलता देखिएको छ । मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयलाई प्रदेश ५ को कोहलपुर सारिएपछि करोडौं लागतमा निर्माण भएको मौसमी पूर्व सूचना दिने राडार सञ्चालनमा अन्यौलता देखिएको हो ।


कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–१४ स्थित रातानाङ्ला डाँडामा विभागले मौसमी राडार केन्द्रको निर्माण सम्पन्न गरिसकेको छ । समग्र सेवा प्रणालिको सवलीकरण र मौसम तथा जल सम्वन्धी अवलोकन कार्यप्रर्णालीमा अत्याधुनिक सुविधा सम्पन्न बनाउन विश्व बैंकका सहयोगमा इन्टरप्राईज इलेक्ट्रोनिक को–अप्रेशन अमेरिकन कम्पनीले मौसमी पूर्व सूचना दिने (राडार) निर्माण गरिदिएको हो । राडार स्थापना भएको केन्द्रदेखी प्रदेश पाँच, कर्णाली र सुदूपश्चिम क्षेत्रको तीनसय किलोमिटर दुरीसम्मको मौसमको पूर्व अवस्थाको जानकारी दिनेछ । राडारले वर्षा, वर्षाको प्रकार तथा तीव्रता, वायु प्रणालिको वहाव, वादलको अवस्था, चक्रवातको वहिर्भावको स्थिति, असिना, हिउ, चट्याङ लगायत बाढीको जोखिमको पुर्वानुमानको काम गर्नेछ ।  राडारको पूर्वाधार निर्माणको ९९ प्रतिशत काम काम सम्पन्न भएको स्टक–टू काठमाडौंका प्रतिनीधि इश्वर गिरीले जानकारी दिए । उनले कर्मचारी अभाव र सुरक्षाको अभाव भएको गुनासो पोखे ।

झण्डै १७ करोडको लागतमा निर्माण गरिएको राडारले दिइरहेको मौसमी गतिविधिको जानकारी  इन्टरप्राईज इलेक्ट्रोनिक को–अप्रेशन अमेरिकन कम्पनीले नै अमेरिकामा संकलन गरिरहेको छ । सुर्खेतमा रहेको मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयलाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले प्रदेश ५ को कोहलपुर सारिएपछि विभागलाई निर्माण सकिएको राडार हस्तान्तरण हुन सकेको छैन् । राडार निर्माणसंगै ११ जना कर्मचारीहरुको दरवन्दी मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालयले यसअघि नै विभागमा पठाइसकेको छ । तर राडारको मुख्य केन्द्र कहाँ रहने भन्ने टुंगो विभागले लगाउन सकेको छैन् । करोडौं लागतमा निर्माण गरिएको राडारको प्रमुख सूचना संकलन गर्ने केन्द्र सुर्खेतमा राख्न पहली प्रयास भइरहेको जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक डा. ऋषिराम शर्माले बताए । उनले विपद् आउनु पूर्वका सम्पूर्ण गतिविधिहरु थाहा पाउने महंगो उपकरण स्थापना गरेपनि मन्त्रालयले यसको महत्व नबुझेको हुनसक्ने बताए । ‘कर्णालीकै हितका लागि सुर्खेतमा कार्यालय हुन जरुरी छ’ शर्माले भने ‘राडारले दिने सूचना छिटो रुपमा ग्रहण गर्न कोहलपुरभन्दा सुर्खेतमा कार्यालय हुन अति आवश्यक छ ।’ राडार सुर्खेतमा निर्माण हुनु भनेको नेपालको लागि नयाँ अभ्यास हो । तर यसबाट बढी लाभ कर्णाली सरकारले लिन्छ’ डा. शर्माले थपे, ‘भौगोलिक रुपमा विकट प्रदेशमा मौसमको स्पष्ट जानकारी यहीँबाटै थाहा पाउने सकिन्छ । तसर्थ यो क्षेत्रमा हुन सक्ने दैवी प्रकोप घटनाबाट जिउधनको क्षती हुनमा राडारले मद्दत गर्छ ।’ बालुवामा पानी खनाएसरी आयोजना सम्पन्न गर्ने र त्यसबाट लाभ लिन नसक्ने हो भने राडार निर्माण गर्नुको औचित्य नहुने उनको तर्क छ । तर उनले राडारको सम्पूर्ण गतिविधि सुर्खेतमै हेर्ने गरी कार्यालय स्थापनार्थ आफ्नो पहली प्रयास रहने बताए । सरकारले कार्यालयलाई नै कोहलपुर सार्नुभन्दा नेपालकै हितका लागि बनेको राडारबाट अधिकतम लाभ लिन सुर्खेतमै कार्यालय हुन आवश्यक रहेको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका प्राज्ञ डा. मदनलाल श्रेष्ठ बताउँछन् । मौसमसम्बन्धी सम्पूर्ण गतिविधि राडारले त दिन्छ नै’ श्रेष्ठ भन्छन्, ‘हवाई दुर्घटना रोक्न पनि राडारको महत्व उत्तिकै छ ।’ ‘जुम्ला र सुर्खेतमा मौसम सफा छ तर हवाई रुटको विचको मौसम विमानस्थल टावरलाई थाहा हुँदैन’ डा. श्रेष्ठले थपे, ‘राडारले त्यो विचमा कहाँ कति बादल लागेको छ वा वर्षा के भइरहेको छ भन्ने स्पष्ट जानकारी दिन्छ । त्यसैले यति महंगो संरचना एकातिर कार्यालय अर्कैतिर सार्नु राम्रो पक्ष हैन् ।’   

सरकारले उदयपुरको उदयपुरगडी र पाल्पाको रिब्डिकोटमा मौसमी राडार राख्न सर्भे प्रक्रिया समेत अघि बढाइ सकेको छ । नेपालको तत्कालिन मौसमी अवस्था पत्ता लगाउन र भविष्यमा हुन सक्ने मौसमी जानकारीको पूर्वानुमान गर्न निर्माण गरिएको राडारलाई सरकारले सही रुपमा सञ्चालन गर्न आश्यक रहेको मौसम विज्ञहरु बताउँछन् । उनीहरुले नेपालमा हुने हवाई दुर्घटना रोक्नमा राडारले समेत सहयोग पु¥याउने भएकाले प्रविधिको सही सदुपयोग गर्न सरकारसंग आग्रह गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!