निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने

Posted on: 20 Feb, 2019

फागुन ८, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ । यसका लागि आवश्यक प्रक्रिया सुरु गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।  

डीएनको वैधानिकतामै प्रश्न उब्जिएपछि प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट अमेरिका पठाइन लागेको हो ।  यसअघि राष्ट्रिय मानव अधिकार आयोगले पनि डीएनएको वैधानिकतामाथि प्रश्न उठाएको थियो ।  निर्मला पन्तको बलात्कार र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने मुख्य प्रमाण ‘इलेक्ट्रोफेरोग्राम’ परीक्षणको प्रक्रियामाथि पनि प्रश्न उठेको छ ।  विज्ञहरुले डिएनएको समग्र संकलन प्रक्रियाका लागि विज्ञ समुह गठन गर्न सुझाव दिदै आएका छन् । स्रोतका अनुसार ‘इलेट्रोफेरोग्राम’ लाई अमेरिका पठाइनेछ । यसबारे डीएनए विज्ञहरुसँग छलफल भइरहेको स्रोतले बतायो । 

स्रोतका अनुसार प्रहरीको विधि विज्ञान प्रयोगशालामा ‘अटोसोमल एसटीआर’ निकाल्ने उपकरण मात्रै रहेको र अन्य उपकरण नरहेपछि विस्तृत रिपोर्टका लागि अमेरिकाको ल्याबमा पठाउन लागिएको हो ।

प्रहरीको प्रयोशालामा भेजाइनल स्वाबबाट निकालिएको नमुना बाँकी नराखिएको अधिकारीहरुले बताउँदै आएका छन् । प्रहरीका अनुसार नमुना निकै कम भएकाले त्यसको संरक्षण गर्न नसकिएको हो । तर विज्ञहरुले भेजाइनल स्वाबबाट निकालिएको नमुना सुरक्षित नराख्नु गम्भीर गल्ती भएको बताउँदै आएका छन् । ’ 

गत साउन १० गते साथीको घरमा निस्कीएकी निर्मला साउन ११ गते उखुबारीमा मृत फेला परेकी थिइन् । 

उनको बलात्कारपछि हत्या गरिएको पुष्टि भएपनि हत्यामा संलग्नको पहिचान हुन सकेको छैन ।  केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले समातेका संकास्पद व्यक्तिले अभियोग स्वीकार गर्ने तर डीएनए नमिल्ने भएपछि अनुसन्धानमा जटिलता थपिएको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!