होलीमा इच्छा विपरित रंग दल्ने र लोला हान्नेलाई सार्वजनिक मुद्दा

Posted on: 19 Mar, 2019

चैत ४, काठमाडौं । होली पर्वलाई लक्षित गरेर काठमाडौं प्रहरी परिसरले सुरक्षाका विशेष योजना लागु छ । इच्छा विपरित रंग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने तयारीसहित सुरक्षा योजना लागू गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले होली पर्वलाई लक्षित गरेर यस्तो सुरक्षा योजना पारित गरेसँगै प्रहरीले सोही अनुरुप तयारी गरेको जनाएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तकुमार लामाले अभद्र तरिकाले होली खेलिएको पाइए तत्काल पक्राउ गरेर हिरासतमा लिइने बताए ।

लामाले कसैले इच्छा विपरित रंग दलेको खण्डमा वा लोला हानेको अवस्थामा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।

होलीको दिन काठमाडौंमा मात्रै १७ सय ११ जना प्रहरी अधिकारी फिल्डमा खटिने एसएसपी लामाले बताए ।

उनका अनुसार होलीलाई लक्षित गरेर उपत्यकामा चेकपोइन्टहरु राखिएको छ भने मोबाइल गस्ती पनि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंका अनुसार हालसम्म यस वर्षको होलीमा सार्वजनिक कार्यक्रम आयोजना लागि २७ वटा समूहले अनुमति लिएका छन् । ती कार्यक्रमहरुको सुरक्षामा सम्बन्धित आयोजकका तर्फबाट स्वयम्सेवकसँगै प्रहरी पनि खटिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!