किशोरीलाई बलात्कार गरेको आरोपमा बर्दियाका एक युवक रत्नपार्कबाट पक्राउ

Posted on: 26 Mar, 2019

चैत १२, काभ्रेपलाञ्चोक | तेमाल गाउँपालिका–२ चुखाबेँसीमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–१ का २६ वर्षीय गोविन्द परियारलाई गाडी चढेर भाग्ने क्रममा काठमाडौँस्थित रत्नपार्कबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार परियार घर बनाउने काममा केही समयदेखि काभे्रपलाञ्चोकको विभिन्न स्थानमा बस्दै आएका थिए । गत शनिबार राति १ बजे ती किशोरीलाई फोन गरी भेट्न बोलाएर जबरर्जस्ती गर्दा स्थानीयवासीले थाहा पाएपछि परियार भागेको पीडित परिवारद्वारा गत आइतबार काभे्रपलाञ्चोक प्रहरीमा दर्ता किटानी जाहेरीमा उल्लेख गरिएको छ । पक्राउ परेका युवकको सोमबारै म्याद थप गरी घटनाको अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । 

मङ्गलबारनै पीडित किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ । मुलुकी संहितामा आरोपितलाई जबरर्जस्ती करणी कसुरअनुसार १२ देखि १४ वर्षसम्म कैद सजाय हुने प्रावधान छ । 

काभे्रपलाञ्चोक प्रहरीले यही चैत ३ गते मण्डनदेउपुर नगरपालिका–७ कोदारीटोलकी एक १४ वर्षकी किशोरीको सामूहिक बलात्कारमा संलग्न चारजना युवकलाई पनि पक्राउ गरी जबरर्जस्ती करणी कसुरमा मुद्दा चलाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!