‘ठूला भूकम्प गएको ठाउँमा दशौँ वर्ष परकम्प’

Posted on: 25 Apr, 2019

नारायण अधिकारी | वैशाख १२, चितवन (रासस) | भूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्प गइरहने विज्ञले बताएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधी गर्नुभएका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रुपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्प गइरहेको हो । 

पौडेलका अनुसार जमीनमुनि इण्डियन र तिब्बतियन प्लेट निरन्तर ठोक्किइरहन्छ । इन्डीयन प्लेट तिब्बतीयन प्लेटको मुनि पस्नेक्रम निरन्तर भइरहेको भन्दै उहाँले यसबाट हुने शक्ति सञ्चय भूकम्पीयमाध्यमबाट क्षय हुने बताउनुभयो । ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्प गइरहने पौडेलले बताउनुभयो । जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पले दिने उहाँले बताउनुभयो । 

सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्प मात्र जाने पौडेलले बताउनुभयो । जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उहाँ बताउनुहुन्छ । सन् १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रबिन्दु भई भूकम्प जाँदा १० हजार ७०० जनाले ज्यान गुमाएको र त्यसको प्रभाव भारतको दरबङ्गासम्म पुगेको उहाँले बताउनुभयो । 

विसं २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको र अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको पौडेलले बताउनुभयो । पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि ठूलो भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उहाँको भनाइ छ । भूकम्पीय जोखिम कम गर्न सरकारले सर्वसाधारणलाई सचेत गराउनुपर्ने पौडेल बताउनुहुन्छ । कमजोर संरचनाले क्षति पुर्याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प जाँदा  आपत्कालीन व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । चार वर्षअघि आजकै दिन गोरखाको बारपाकमा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो । 

चार वर्षमा १६ विद्यालय पुनःनिर्माण 

चार वर्षअघि गएको भूकम्पका कारण भत्किएका १५९ विद्यालयमध्ये १६ विद्यालय मात्र पुनःनिर्माण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना एकाइ (शिक्षा) चितवनले दिएको जानकारीअनुसार भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणको काम हालसम्म १० प्रतिशत मात्र भएको छ । 

कार्यालयका प्रमुख भक्तराज सेञ्चुरीका अनुसार हालसम्म पुनःनिर्माण गर्नुपर्ने १५९ विद्यालयमध्ये १६  विद्यालयका ४४ कक्षाकोठा मात्रै निर्माण भएका छन् । अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षमा ती विद्यालय निर्माण भएका हुन् । चालू आर्थिक वर्षमा ३६ विद्यालयमा ११५ कक्षाकोठा निर्माण गरिएको छ । 

कार्यालयका इञ्जिनीयर सरोज श्रेष्ठका अनुसार चालू आर्थिक वर्षका लागि विनियोजित रु १८ करोड आठ लाख बजेटमध्ये हालसम्म रु १० करोड ५० हजार मात्र खर्च भएको छ । चितवन कम प्रभावित जिल्लाका रुपमा पर्ने हुँदा शिक्षाको कार्यक्रममा पर्याप्त बजेट नआउँदा कामको प्रगति कम देखिएको उहाँले बताउनुभयो । कार्यालयका प्रमुख सेञ्चुरीका अनुसार १५९ विद्यालयमध्ये कतिपय विद्यालय मर्मत सम्भारमा मात्रै परेका छन् । ती विद्यालयको काम भइरहेको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!