नेकपाका १० जिल्ला कमिटी टुङ्गियो

Posted on: 21 May, 2019

जेठ ७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ३ अन्तर्गतका १० जिल्ला कमिटीले पूर्णता पाएको छ । प्रदेश नं ३ का १३ जिल्ला कमिटीमध्ये अहिलेसम्म काठमाडौँ, भक्तपुर, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा र नुवाकोटमा जिल्ला कमिटीले पूर्णता पाएको हो । अहिलेसम्म ललितपुर, काभ्रेपलाञ्चोक र चितवन जिल्लाको कमिटी गठन भइनसकेको प्रदेश कमिटीले जनाएको छ । 

बाँकी रहेका तीन जिल्लामा आगामी सातासम्ममा टुङ्गो लागिसक्ने प्रदेश कमिटी इञ्चार्ज अष्टलक्ष्मी शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, “बाँकी जिल्लामा पनि कमिटी गठनका लागि आवश्यक गृहकार्य भइरहेको छ ।” आज धादिङ कमिटीको शपथग्रहण भएको प्रदेश कमिटीले जनाएको छ । भोलि बुधबार मकवानपुर र बिहीबार सिन्धुली जिल्ला कमिटीको शपथग्रहण कार्यक्रम रहेको छ । 

कमिटी गठन गर्दा वरिष्ठतालाई प्राथमिकता दिइएको इञ्चार्ज शाक्यले जानकारी दिनुभयो । पूर्व नेकपा (एमाले) र माओवादी केन्द्र दुवै पार्टीमा लामो समय काम गरेको अनुभव र क्षमतालाई मापदण्ड बनाइएको उहाँको भनाइ छ । उहाँका अनुसार महिला, जनजाति, दलितलगायतलाई समेटेर समावेशी कमिटी बनाउन लागिएको छ । जिल्ला कमिटी गठन गर्दा पर्याप्त छलफल भएको उहाँले बताउनुभयो । १३ वटै जिल्लाको जिल्ला कमिटी गठन भइसकेपछि नगर, गाउँ र वडा कमिटीको गठन हुनेछ । गत ४ गते बसेको प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीलाई चाँडो पूर्णता दिने निर्णय गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!