वैदेशिक रोजगार बोर्डले भन्यो, ‘सहुलियत कर्जा लिन बैंकमा जानू’

Posted on: 21 May, 2019

जेठ ७, काठमाडौँ । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ । 

 बोर्डले आज एक सूचना जारी गर्दै सहुलियत कर्जा लिन सूचीकृत भएका युवालाई आफूले पेश गरेको व्यावसायिक कार्ययोजनासहित पायक पर्ने वाणिज्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न अनुरोध गरेको हो । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई विदेशमा सिकेका सीप र दक्षताको प्रयोग गरी स्वदेशमै स्वरोजगार बन्न सहयोग गर्ने उद्देश्यले सहुलियत कर्जा उपलब्ध गराउन लागेको हो । 

 सहुलियत कर्जाका लागि वैदेशिक रोजगारीबाट फर्केका १८ हजार ७६७ युवाले बोर्डमा आवेदन दिएका थिए । बोर्डले गत मङ्सिर १३ गतेदेखि पुस मसान्तसम्म आवेदन सङ्कलन गरेको थियो । बोर्डले तोकिएको मापदण्ड पूरा गरेका १७ हजार ७३७ पुरुष र ८९३ महिलालाई सरल कर्जाका लागि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसमक्ष सिफारिश गरेको थियो । 

सरल कर्जाका लागि सिफारिशमा परेकामध्ये सबैभन्दा बढी मलेसियाबाट फर्केका युवा रहेका छन् । सरलकर्जा माग गर्नेमा मलेसियाबाट फर्केका छ हजार ४०८, साउदीबाट फर्केका चार हजार ३९२, यूएईबाट फर्केका दुई हजार ६१७ जना रहेका छन् । त्यस्तै जापानमा रोजगारी गरेर फर्केका ३९ जनाले समेत सरल कर्जा माग गरेका छन् । 

 सरकारले आव २०७५/७६ को बजेट वक्तव्यमा विदेशबाट फर्केका युवाको सीप प्रमाणीकरण गरी त्यस्ता युवालाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजनामा आधारित रु १० लाखसम्मको ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । सरकारले सरल कर्जा कार्यक्रमलाई व्यवस्थितरूपमा सञ्चालन गर्न ‘सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५’ जारी गरिसकेको छ । स्वरोजगार बन्न चाहने युवालाई सहुलियत कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ । 

 सरल कर्जाका लागि आवेदन दिएका युवाको विवरण बोर्डको वेबसाइटमा राखिएको छ । कर्जा उपलब्ध गराउने प्रक्रियामा बैंक तथा वित्तीय संस्थाले सूचीकरण विवरण माग गरे आवेदन दिने युवालाई बोर्डका तर्फबाट सूचीकरण विवरण तथा सिफारिश उपलब्ध गराइने कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!