मलेसियाका पूर्वराजा अहमद शाहको निधन

Posted on: 22 May, 2019

जेठ ८, क्वालालमपुर । मलेसियाका सातौँ राजा तथा प्रसिद्ध फुटबल खेलाडी सुल्तान अहमद शाहको बुधबार निधन भएको छ । 

उहाँको ८८ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले पुष्टी गरेका छन् । पाहाङ राज्यबाट उहाँ केन्द्रीय राजा बन्नु भएको हो । पाहाङ राज्यको भने उहाँ पाँचौँ राजा हुनुहुन्थ्यो ।

देशका मुख्यमन्त्री वान रोस्डी वान स्माइलले वक्तव्य जारी गर्दै पूर्वराजाको निधन भएको जानकारी दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । 

राजधानी क्वालालमपुरमा रहेको राष्ट्रिय मुटु अस्पतालमा बुधबार बिहान उहाँको निधन भएको वक्तव्यमा उल्लेख गरिएको छ ।  

सन् १९३० मा जन्मनु भएका अहमद शाह सन् १९७४ मा पाहाङ राज्यको राजा बन्नु भएको थियो भने सन् १९७९ देखि १९८४ सम्म पाँच वर्ष केन्द्रीय राजा बन्नु भएको थियो । 

मलेसियाका १३ प्रदेशमध्ये नौ प्रदेशमा छुट्टाछुट्टै राजा रहने र ती राजामध्ये पालैपालो केन्द्रीय राजा चुनिने व्यवस्था रहेको छ । 

उहाँलाई फुटबलमा अत्यन्त धेरै रुचि रहेको र फुटबल क्षेत्रमा उहाँको ठूलो योगदान रहेको भन्दै मलेसियामा उहाँलाई उच्च सम्मान गर्ने गरिएको छ । 

उहाँ झण्डै दुई दशकसम्म फुटबल सङ्घ मलेसियाको अध्यक्ष हुनु भएको थियो भने सन् १९९४ देखि २००२ सम्म एशियन फुटबल सङ्घको अध्यक्ष हुनुभएको थियो । 

मलेसियामा अहिले सुल्तान अब्दुल्ला अहमद शाह राजा हुनुभएको छ । निर्वाचित संवैधानिक राष्ट्रप्रमुखका रूपमा उहाँ मलेसियाको १६ औँ राजा बन्नु भएको हो । त्यसअघिका राजा सुल्तान मुहम्मद पाँचौँले जनवरी ६ मा राजीनामा दिएपछि उहाँलाई नयाँ राजा चयन गरिएको हो ।

मलेसियाका नौवटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने प्रचलन रहे पनि यसअघिका राजाले समय पूरा नहुँदै व्यक्तिगत कारण देखाउँदै राजगद्दी परित्याग गर्नुभएको हो । 

बुधबार निधन भएका राजा सुल्तान अहमद शाहले ८८ वर्षको उमेरमा गत जनवरी ११ का दिन पद त्याग गरेपछि अहिलेका राजा अब्दुल्ला त्यस राज्यको सुल्तान बन्नुभएको थियो । त्यसपछि उहाँ केन्द्रको राजा बन्नु भएको हो । 

सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुँदैनन । उनीहरूले प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । 

मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायका पदेन प्रमुख हुने व्यवस्था छ भने अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । राजाको मानहानी हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुनसक्ने व्यवस्था छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!