अदालतमै प्रथम जननिर्वाचित राष्ट्रपतिको निधन

Posted on: 18 Jun, 2019


असार ३, काठमाडौँ (रासस)-(एएफपी) | इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको छ ।

 कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढल्नु भएका मोर्सीको अदालतमै मृत्यु भएको उहाँका वकिलहरुले जनाएका छन् । 


सन् २०१३ मा सैनिक शासकद्धारा अपदस्थ गरिएका मोर्सीको निधनका बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन गर्न अधिकारवादी समूहहरुले माग गरेका छन् ।मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले मोर्सीको निधनबारे निस्पक्ष छानबिनको माग गरेको हो ।

हिरासतमा राखिएका बन्दीप्रति अत्यन्त खराब व्यवहार गरेकाले उहाँको निधन भएको हुनसक्ने एमनेस्टीको आशंका छ । 

मुस्लिम ब्रदरहुड दलले भने आफ्नो दलको नेताको निधनलाई हत्याको संज्ञा दिएको छ । राज्यद्धारा सञ्चालित टेलिभिजनले श्रोतहरुलाई उद्धृत गर्दै ६७ वर्षीय मोर्सीको मुटु सम्वन्धी समस्याका कारण निधन भएको जनाएको छ ।

उहाँ इजिप्टको पहिलो नागरिक राष्ट्रपति मानिनुहुन्छ । उहाँले आफ्नो जीवनकालमा विदेशीशक्ति, लडाकू समूह, न्याय क्षेत्र र सुरक्षा क्षेत्रसँग समेत ओजपूर्ण सम्वन्ध राख्नु भएको उहाँ निकटस्थहरुले जनाएका छन् ।

 “अदालतले बोल्न अनुमति दिएको पाँच मिनेटमै उहाँ ढल्नुभयो, त्यसपछि तत्कालै उहाँलाई अस्पताल लगियो, तर अस्पतालले उहाँको निधन भइसकेको घोषणा ग¥यो” न्यायधिवक्ताको कार्यालयले भनेको छ । 

“उहाँलाई स्थानीय समयानुसार अपरान्ह ४।५० मा अस्पताल ल्याइएको थियो, त्यतिबेला उहाँको निधन भइसकेको थियो, शरिरमा घाउचोट देखिएको छैन,”अस्पताल श्रोतले भन्यो ।

 उहाँका कारण अदालती कारबाहीमा बाधा नपुगोस भनेर उहाँलाई बाहिरको आवाज सुन्न नसकिने सिसाको पिँजडाभित्रबाट बयान दिन लगाइएको थियो । 

उहाँ सन् २०१२ को निर्वाचनमा राष्ट्रपति पदमा निर्वाचित भएको एक वर्षमै अपदस्थ भएदेखि नै उहाँलाई आफ्ना परिवार तथा वकिलसँग समेत निकै कम मात्र भेट हुनेगरी कारागारमा राखिएको थियो ।

 जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिन उहाँ अदालत उपस्थित हुनुभएको थियो ।

उहाँलाई अन्य तीन मुद्दाको निर्णयबमोजिम ४५ वर्षको जेल सजाय सुनाइसकिएको थियो । तर उहाँका समर्थकहरूले भने ती मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको आरोप लगाउदै आएका छन । 

उहाँको निधनप्रति धेरैले आशंका गरेकाले हिंसा भड्िकन सक्ने पुर्वानुमानसहित सरकारले इजिप्टमा सुरक्षा व्यवस्था थप कडा बनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!