मलेसियाको जङ्गलमा सर्वाधिक खोजी गरिएकी किशोरीको शंकास्पद शव फेला

Posted on: 13 Aug, 2019

साउन २८, मलेसिया (रासस-एएफपी)  । मलेसियाको जङ्गलमा दश दिनअघि बेपत्ता भएकी एक आइरिस किशोरीको शव फेला परेको स्थानीय प्रहरीले जनाएको छ ।

ती किशोरीको खोजीमा मलेसियाली सैनिक, प्रहरी र अरु खोजकर्ता संलग्न भएका थिए ।

नोरा क्वोरिन नाम गरेकी १५ वर्षीया किशोरी गत अगष्ट ४ मा बेपत्ता भएकी थिइन् । उनी बेलायतबाट घुमघामका लागि मलेसिया आएकी थिइन् ।

परिवारका सदस्यले उनी अपहरणमा परेको आशंका गरेका थिए, तर मलेसिया प्रहरीले बेपत्ता भएको भन्दै खोजी कार्य तिब्र बनाएको थियो ।

राजधानी क्वालालम्पुरबाट निकै टाढाको डुसुन रिसोर्ट नजिकको घना जंगलमा बेपत्ता भएको आशंकामा नोराको खोजी गरिएको थियो ।

तीनसय ५० जनाभन्दा बढी व्यक्ति उनको खोजीमा परिचालन गरिएका थिए । खोजीका क्रममा हेलिकप्टर, ड्रोन, तालिमप्राप्त कुकुर र गोताखोर प्रयोग गरिएको थियो ।

खोजीमा सघाउन बेलायत, आयरल्यान्ड र फ्रान्सका प्रहरीले पनि सहयोग गरेका थिए ।

विदेशमा बेपत्ता हुने बेलायतीको खोजीमा सहयोग गर्ने लुसी ब्ल्याकम्यान ट्रस्टले एक किशोरीको शव जंगलमा फेला परेको जनाएको छ ।

तर त्यो शव नोराकै हो भनिहाल्ने अवस्था नरहेको ट्रस्टको भनाई छ । उक्त ट्रस्टले थप विवरण दिन अस्वीकार गरेको छ । ट्रस्टले फेला परेको शव परीक्षणका क्रममा रहेको जनाएको छ ।

परिवारका सदस्यहरुले नोरालाई फेला पार्ने व्यक्तिलाई ११ हजार ९०० अमेरिकी डलर दिने घोषणा पनि गरेका छन् । सानैदेखि मानसिक रुपमा स्वस्थ नरहेकी नोरा राम्रोसँग बोल्न र लेख्न सक्दिनन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!