विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने : मन्त्री भट्टराई

Posted on: 24 Aug, 2019

 भदौ ७, फिदिम  । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले वर्तमान सरकार सफल हुन सकेमात्रै सङ्घीयता र गणतन्त्र सुदृढ हुने भएकाले अब दलहरुबीच विकास र समृद्धिको एजेण्डामा प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति पाँचथरको तेस्रो जिल्लासभा उद्घाटन कार्यक्रममा आज फिदिममा सम्बोधन गर्नुहुँदै मन्त्री भट्टराईले समृद्ध अर्थतन्त्रका लागि आवश्यक विकासका पूर्वाधार निर्माणको कार्यले फड्को मार्ने बताउनुभयो । उहाँले आर्थिक वृद्धिदर उकालो लाग्न थालेको र केही वर्षमै दोहोरो अङ्कको आर्थिक वृद्धिदर कायम गर्ने गरी सरकारले काम गर्ने लक्ष्य लिएको प्रष्ट पार्नुभयो ।

मुलुक तीन तहको सङ्घीय व्यवस्थामा गएपछि कानूनी, संरचनागत र प्रशासनिक व्यवस्थापनमा सङ्घीय सरकारले धेरै समय खर्चनुपर्दा सरकारले अपेक्षाकृत कार्य गर्न नसकेको हो कि भन्ने भ्रम परेको मन्त्री भट्टराईको भनाइ छ । “पहिलो वर्षलाई आधार वर्ष मानेर यो सरकारले १८ वटा मौलिक हकसम्बन्धी कानून निर्माण, संविधानसँग बाझिने १५० कानून संशोधन र प्रदेशको व्यवस्थापनमा धेरै समय खर्च ग¥यो”, मन्त्री भट्टराईले भन्नुभयो, “अब सरकारको गति फेरिन्छ, सरकार फटाफट अघि बढ्छ ।”

संविधानले सबै आवाजहरु राख्न पाउने सुविधा दिएको प्रष्ट पार्नुहुँदै मन्त्री भट्टराईले हिंसा, आतङ्क र सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उत्रने जो–कोहीलाई सरकारले स्वीकार गर्न नसक्ने बताउनुभयो ।

पूर्वी नेपाल पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको र आफू त्यही मन्त्रालयको विभागीयमन्त्री भएकाले यहाँको पर्यटन प्रवद्र्धनका लागि तीन तहका सरकारले योजनाबद्ध रुपमा काम गर्दै पर्यटन वर्ष २०२० लाई सफल पार्नुपर्ने मन्त्री भट्टराईको भनाइ छ । उहाँले तमोर जलाशययुक्त आयोजना, पुष्पलाल मध्यपहाडी लोकमार्ग, तमोर कोरिडोरजस्ता आयोजना पूर्वी नेपालमा अघि बढ्न लागेको बताउँदै स्थानीय उत्पादन प्रवद्र्धनमा जोड दिन स्थानीय तहलाई आग्रह गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!