एक घण्टा जहाज कुराएको भन्दै यात्रुहरु पर्यटन मन्त्री योगेश भट्टराई माथि खनिए

Posted on: 15 Sep, 2019

भदौ २९, काठमाडौँ | शनिबार बेलुकी नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उड्नै लागेको बुद्ध एयरको जहाजमा यात्रुहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरूद्ध नाराबाजी गरेका छन् ।

मन्त्रीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि उडान होल्ड गरेको र सोही कारण एक घण्टा ढिला भएको भन्दै यात्रुहरूले मन्त्रीविरूद्ध जहाजमै नाराबाजी गरेका हुन् | बुद्ध एयरको जहाज नेपालगञ्जबाट ६:२५ मा उड्ने तालिका थियो। 


यात्रुहरूले मन्त्रीकै कारण 'डिले' भएको आरोप लगाउँदै नाराबाजी गरेको भिडिओ सार्वजनिक भएको छ। उक्त भिडिओमा निकै आक्रोशित देखिएका यात्रुहरूले मन्त्रीसँग सवाल पनि गरेका छन्। 'तपाईंप्रति हाम्रो विश्वास थियो। प्रधानमन्त्री आउँदा पनि हामीले नै दुःख पाउने। आश गरिएका युवा मन्त्री आउँदा पनि हामीले नै सास्ती पाउने। यो कस्तो व्यवस्था हो?' आक्रोशित यात्रुहरूले मन्त्रीसमक्ष बोलेका छन्।

उक्त उडान मन्त्रीकै कारण 'डिले' भएको वा अन्य केही कारणले भएको हो? यसबारेमा विमानस्थल कार्यालय र बुद्ध एयरले कुनै पनि प्रतिक्रिया दिएका छैनन् ।

मन्त्री भट्टराई कैलालीको टिकापुर गएका थिए । उनी त्यहाँबाट फर्किंदा केही समय ढिला भएको मन्त्रीको सचिवालयले स्वीकार गरेको छ | तर आफूहरूकै कारण उडान ढिला नभएको सचिवालयले दाबी गरेको छ।

मन्त्री भट्टराईले फेसबुकमार्फत् आफ्ना विरुद्ध नियोजित रुपमा उत्रिने केही व्यक्तिका कारण यो सब भएको तर जहाज भने जम्मा १५ मिनेट ढिला भएको बताएका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!