साउदी अरबमा भएको हमला: नेपालमा तेलको भाउ बढ्ला ? यस्तो छ विश्लेषण

Posted on: 17 Sep, 2019

भदौ ३१, काठमाडौँ | शनिवार ड्रोन आक्रमणका कारण साउदीको अब्काइक र खुरैस प्रशोधन केन्द्रमा तत्कालका लागि उत्पादन रोकिएको छ । जसको कारण तेलको विश्वबजारमा मूल्य बढ्ने विश्लेषण भईरहंदा नेपालमा के होला भन्ने जिज्ञाशा छ । 

साउदी अरबका तेल प्रशोधनस्थलमा आक्रमण भएपछि पेट्रोलियम पदार्थको मूल्य चार महिनाकै सर्वोच्च बिन्दुमा पुगेको छ । शनिवारको आक्रमण पछि साउदी अरबले तेल र ग्यासको उत्पादनमा कटौती गरेको थियो । त्यसबाट विश्वभरि हुने आपूर्ति पाँच प्रतिशतले घटेको छ । 

हमलापश्चात् व्यापार सुरु हुँदा ब्रेन्ट कच्चा तेल परिसूचकमा तेलको मूल्य १९% ले वृद्धि भई प्रतिब्यारल ७१.९५ अमेरिकी डलर पुगेको थियो । त्यसैगरी वेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को परिसूचकमा कच्चा तेलको मूल्य १५% ले बढ्दा प्रतिब्यारल ६३.३४ डलर पुग्यो । एक ब्यारलमा १५९ लिटर तेल हुन्छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरण गर्न अनुमति दिएपछि बढेको मूल्य केही घट्यो । त्यसपछि ब्रेन्ट परिसूचकमा प्रतिब्यारल ६६.२८ अमेरिकी डलर मूल्य कायम भएको छ ।


अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको कारण नेपालमा पनि असर पर्न सक्ने आंकलन गरिएको छ । तर नेपाल आयल निगमका अधिकारीहरुले भने नेपालमा तत्काल तेलको भाउ नबढ्ने बताएका छन् । नेपाल आयल निगमले आफूलाई आवश्यक हुने पेट्रोलियम पदार्थ भारतीय आयल निगमबाट लिने गरेको छ । भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिख नयाँ मूल्यसूची पठाउने गर्दछ । जस अनुरुप सोमवार मात्र आएको पछिल्लो मूल्यसूचीमा अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभाव परेको छैन । अब अर्को मूल्यसूची अक्टोबर १ तारिखमा मात्र आउने हुँदा त्यसको प्रभाव त्यति खेरसम्म मात्र पर्ने देखिन्छ । यदी त्यतिखेर विश्वबजारमा तेलको उत्पादन मात्र सन्तुलित भएमा नेपालमा अक्टोबर १ पनि तेलको मूल्य नबढ्न सक्छ ।

यता नेपालको परराष्ट्र मन्त्रालयले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै साउदी तेल प्रशोधन केन्द्रमा भएको आक्रमणको निन्दा गरेको छ । व्यापारिक प्रतिष्ठानहरूमा संवेदनहीन आक्रमणको निशानामा पारिनु खेदजनक भएको मन्त्रालयले जनाएको छ । नेपालको परराष्ट्र मन्त्रालयले भनेको छ 'राजनीतिक उद्देश्य प्राप्तिका निम्ति बल तथा हिंसाको प्रयोगको नेपाल भर्त्सर्ना गर्दछ ।" 

यस बिषयमा तपाइको प्रतिक्रिया...!