बैंक अफ काठमाण्डूका पूर्व सिईओ सहित ११ जना पक्राउ

Posted on: 22 Sep, 2019

असोज ५, काठमाडौँ | नक्कली धितोमा ऋण लिएको अभियोगमा प्रहरीले बैंक अफ काठमाण्डूका पूर्व सिईओ सहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो ।

उनीहरु माथि नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोग लगाइएको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले जनाएको छ । कर्जा लगानी भएको बेला श्रेष्ठ बैंकका सीईओ थिए ।

खोलाभित्रको जग्गा धितो राखेर ऋण स्वीकृत गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको सीआईबीले जनाएको छ । बैंकका कर्मचारीहरुले खोलाको जग्गा देखाएर नक्कली लालपुर्जा लिएर कर्जा स्वीकृत गरेका थिए । त्यसबेला ५ करोड रुपैयाँ रकम स्वीकृत गरिएको थियो । त्यति ठूलो रकम स्वीकृत गर्दा सीईओको पनि भूमिका हुने भन्दै श्रेष्ठ समेतलाई सीआईबीले पक्राउ गरि अनुसन्धान गरेको हो ।

प्रहरीले ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी रहेका छन् । पूर्व सीईओ श्रेष्ठसहित ३ जना पूर्व कर्मचारी हुन् भने ३ जना बैंकका बहालवाला कर्मचारी हुन् । पक्राउ परेका बाँकी अरु ऋणीहरू हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!