हड्डीले खाइदियो अमृतको अन्ननली... !

Posted on: 20 Oct, 2019

प्रकाश सिलवाल | कात्तिक ३, काठमाडौँ | पेटमा प्वाल पारेर बाहिर पाइप जोडिएको छ, त्यही पाइपबाट निश्चित समयमा मात्रा मिलाएर झोल पदार्थ शरीरमा पठाइन्छ । सिँगान र खकारजस्ता बिकार बाहिर निकाल्न छातीमा अर्को प्वाल बनाइएको छ । 

अड्किएको मासुको हड्डी निकाल्ने क्रममा अन्ननली काम नलाग्ने भएपछि त्यसलाई काटेर फाल्नु परेपछि अमृत शर्माको अहिलेको आहारा मुखबाट चल्दैन, सिधै पेटबाट हुन्छ । यो कठिन नियति देख्दा र सुन्दा सबैलाई दुःख लाग्छ सक्छ तर बिरामीको परिवार तुलनात्मकरुपमा खुशी छ किनकी अमृत शर्मा आचार्यको ज्यान कम्तीमा जोगिएको छ र योभन्दा ठूलो शल्यक्रिया गरेर आमासयको थैली काटेर त्यसलाई सानो बनाएर अप्राकृतिक अन्ननली राख्न सकिने आधार चिकित्सकले दिएका छन् ।

बाग्लुङ निवासी अमृत लोकप्रिय जनगायक जीवन शर्माका माइला छोरा भएर मात्र होइन समस्याको जटिलताका कारण पनि चिकित्सक र सर्वसाधारणका माझ चिनिनुभएको छ । श्रीमती र दुई महीनाका छोराका साथ हाल नेपालटार बस्ने अमृतको अन्ननलीमा बडादशैँको नवमीका दिन मासुको हड्डी छिरेको थियो । खाँदाखाँदै अमृतले पेटमा बेस्सरी दुखेको जनाएपछि परिवारका सदस्यले पेटको सामान्य समस्या ठानेका थिए ।

“घाँटीमा अड्किएको भए तत्काल समस्या पहिचान भई उपचार गराउनसक्ने सम्भावना थियो तर पेटमा अड्किएकाले हामीले शुरुमा उसलाई ग्यास्ट्रिक भनेर एक दुई दिन घरमै परामर्श र उपचार गरायौँ । उसको मामा नै चिकित्सक छन् । उनले पनि ग्यास्टिकको आशङ्का गरेकाले गम्भीर भएनौँ तर यति गम्भीर समस्या केही दिनपछि मात्रै थाहा पायौँ ।”

छोरालाई छट्पटी शुरु भएका बेला साङ्गीतिक कार्यक्रमका लागि विदेशमा रहेमा गायक शर्मा भ्रमण छोट्याएर स्वदेश फर्कनुभयो र अमृतलाई ग्रिनसिटी अस्पताल लानुभयो । त्यहाँ तत्काल उपचार सम्भव नभएपछि वीर अस्पताल लगियो । त्यहाँ पनि के के नमिलेपछि त्रिवि शिक्षण अस्पताल लगियो । डा रञ्जन सापकोटा नेतृत्वको चिकित्सक समूहले अमृतलाई ज्वरो आइरहेका बेलामा पनि करीब नौ घण्टासम्म लगाएर अन्ननलीको शल्यक्रिया गरियो र पछि सोही परिसरमा रहेको ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ मा भर्ना गरिएको अमृतका दाई अर्जुन आचार्यले बताउनुभयो । 

लामो श्वास तान्दै गायक शर्माले रासससँग भन्नुभयो, “सामान्यतः ज्वरो आएको समयमा बिरामीको शल्यक्रिया गरिन्नँ तर छोरालाई बचाऊ तत्काल शल्यक्रियाबाहेक अर्काे विकल्प चिकित्सकले देखेनन् । उनीहरुले बाँच्ने सम्भावना ३० प्रतिशत भनेर पहिल्यै भनेका थिए तर उनीहरुले बचाएर देखाए । ऊ बाँचेपछि खाने प्रक्रिया र शैलीका लागि अरु उपचार र तरिका अपनाउँदै जाउँला भन्ने सोचेका छौँ ।”

अन्ननलीको अर्को व्यवस्थापनका लागि केही समयपछि शल्यक्रिया गर्ने र त्यसका लागि ठूलै रकम खर्च लाग्ने अनुमान गरिएकाले मध्यम आर्थिक परिवारमा रहेका शर्माले सहयोगी हात खोज्नुभयो । शीर्षक र समस्या बेच्न माहिर केही युट्युब र अनलाइनले गायक शर्मालाई ‘पुत्रको बज्रपात’ जस्ता उडन्ते शीर्षक हालेर भ्रमित पनि बनाउन खोजे अमृतको परिवारले हरेस खाएन । त्यसो त, अमृत आफैँ ‘रातो लाल्टिन’ पत्रिका चलाउनहुन्छ । 

रोगको जटिलता र गायक शर्माको छोरा भएकाले पनि अमृतका प्रति चासो, सहानुभूति र मायाका साथ आर्थिक सङ्कलन जुट्न थालेको छ । आर्थिक सङ्कलनको सद्भावकाप्रति धन्यवाद दिने गायक शर्मा चाहिनेभन्दा धेरै रकम उठ्ने वा चाहिएको समयमा आवश्यक रकम पनि नहुने असन्तुलन हुने त होइन ? भन्ने चिन्तामा पनि हुनुहुन्छ । सहयोगका नाममा आत्मप्रचार कसैले नगरुन् र अरु यस्तै समस्यामा परेका नागरिकका लागि पनि अरुले ध्यान दिन नबिर्सुन् भन्नेमा गायक शर्मा सचेत हुनुहुन्छ । 

प्रधानमन्त्रीको चासो

गायक शर्माको छोराको स्वास्थ्यका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिनुभएको छ । प्रधानमन्त्री ओलीले शनिबार गायक शर्मालाई प्रधानमन्त्री निवासमा भेटेर छोराको स्वास्थ्यस्थिति र व्यक्तिगत कुराकानी गर्नुभएको थियो । प्रधानमन्त्रीको सद्भावकाप्रति आफूले धन्यवाद दिएको र यस्तै समस्यामा पर्ने बिरामी जो कोही नागरिकले रकमको अभावमा उपचार नपाउने स्थिति नहोस् र सोका लागि नीतिगत व्यवस्थासहित कोष खडा गर्न सुझाएको शर्माले बताउनुभयो । ‘सिमली छाँयामा बसी...’ लगायत धेरै जनप्रिय गीतका स्रष्टा शर्मा छोराको उपचारका चरणबारे अलग्गै साहित्य सिर्जना हुने भन्दै छोराको अवस्थाबारे उही कुरा धेरैलाई हरेक दिन सुनाउँदा थकित पनि देखिनुभएको छ तर उहाँको एउटै सन्देश छ, “मेरो छोरा बाँचेकामा म खुशी छु र यो जस्तै समस्याले उपचार नपाएर कोही पनि मानिसले जीवन खेर फाल्नु नपरोस् ।”

यस बिषयमा तपाइको प्रतिक्रिया...!