पूर्वसांसद गायत्री साहलाई ३ दिनभित्र आफ्नो बच्चा लैजान उच्च अदालतको आदेश (यस्तो छ पत्र)

Posted on: 21 Oct, 2019

कात्तिक ४, काठमाडौं । पूर्वसांसद गायत्री साहलाई पाटन उच्च अदालतले उनको शिशु लैजान आदेश दिएको छ । साहले २०७५ फागुन २८ गते मेडिसिटी अस्पतालमा छोरा जन्माएकी थिइन् । तर छोराको दुबै खुट्टा केही बांगो रहेको देखिएपछि उपचाररत छोरालाई साहले अस्पतालकै जिम्मा हुने भन्दै छोडेकी थिइन् ।

साहले अस्पतालकै कारण आफ्नो छोराको स्वास्थ्यमा समस्या आएको भन्ने आरोप लगाई शिशुको बाँकी जिम्मेवारी अस्पताललेनै लिनुपर्ने भन्दै आफ्नो बच्चा अस्पतालमै छाडेकी थिइन् । उनको अडानलाई नकार्दै अस्पताल प्रशासन र चिकित्सकहरुले भने साहको छोरालाई ‘डाउन सिन्ड्रोम’ भएको बताएका थिए ।

पूर्वसांसद साहले जन्मेको ८ महिना हुँदासमेत आफ्नो बच्चालाई लैजान नमानेपछि वीर अस्पतल र कान्ति बाल अस्पतालका प्रमुख कन्सल्टेण्ट बालरोग विशेषज्ञ डा. पंकज राय र डा. रामहरी चापागाईसहितको चिकित्सक टोलीले शिशुको थप स्वास्थ्य परीक्षण गर्दा शिशुलाई ‘डाउन सिन्ड्रोम’ भएको र हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै डिस्चार्ज गरेर घर लैजान सुझाव दिएका थिए । 

अदालतले बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६५ (३) बमोजिम बालबालिकाको अधिकारको प्रचलन गराउने प्रयोगार्थ शिशुका अभिभावकलाई तीन दिनभित्र शिशु लैजान निर्देशन दिएको छ । अदालतले असोज ३० गते पत्र काटेको भएपनि कात्तिक ३ गतेसम्म पनि साहले अस्पताल गएर आफ्नो बच्चा नलगेको अस्पतालले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!