वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै आठ लाख ठगी गर्ने पक्राउ

Posted on: 08 Nov, 2019

कात्तिक २२, काठमाडौँ । नेपाल प्रहरीले जर्जिया पठाइदिने भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारको सिलसिलामा जर्जिया पठाइदिन्छु भनी रु आठ लाख ५० हजार ठगी गर्ने दोलखाका रामकृष्ण राईलाई बिहीबार मोरङबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज सार्वजनिक गरेको हो । 

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जर्जियामा ‘क्लिनर्स’मा जागिर लगाइदिने र उक्त कम्पनीले मासिक रु ९० हजार तलब र खान बस्ने सुविधा दिने भनी प्रलोभनमा पारेर ठगी गरेकाले राईलाई पक्राउ गरिएको जानकारी दिनुभयो । 

“पक्राउ व्यक्तिले राजन राईसँग रु तीन लाख ५० हजार र ईन्द्र लिम्बूबाट रु पाँच लाख लिई ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ”, उहाँले भन्नुभयो । पक्राउ परेका व्यक्तिले अरु व्यक्तिसँग पनि ठगी गरेको फेला परेको छ । महाशाखाले पक्राउ व्यक्तिसँग आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!